सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा छ: अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा रहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)सँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले विद्युत उत्पादनलाई बढाइ, धेरै भन्दा धेरै स्वदेशमै उपभोग बढाउने र बँचेको विद्युत निर्यात गर्ने नीतिका साथ सरकार अघि बढेको बताए ।

उनले उर्जा उत्पादकलाई डिस्करेज गर्नेतर्फ नभइ प्रोत्साहन गरेर अघि बढ्ने बताए । ‘सरकारको पनि नीति र मेरो आफ्नो दृष्टिकोण पनि के हो भने हामीले उर्जा उत्पादकलाई डिस्करेज होइन इन्करेज नै गर्नुपर्छ । अहिलेको सभ्यताको, जीवनस्तरको, ह्युमन डेभलपमेण्ट इण्डेक्सको मापन गर्ने एउटा महत्वपूर्ण आधार परक्यापिटा इनर्जी कन्जुम्सन कति छ भन्ने पनि होला । कति डलर कमाउँछ भनेको जस्तै कति बिजुली खपत गर्छ भनेर पनि हेरिन्छ । त्यो पनि बढाउनुपर्ने छ,’ अर्थमन्त्री पौडेलले भने ।

यस्तै विद्युत उत्पादन गरी, अत्याधिक मात्रामा उपभोग गरेर बँचेको बिजुली बेच्ने सरकारको नीति रहेको पनि उनको भनाइ थियो । यस्तै उर्जा उत्पादनलाई इन्करेज गर्ने सोचका साथ सरकार अगाडि बढ्ने पनि उनले बताए । यस क्रममा उनले व्यवसायीलाई आफ्नो मनोबल नटुटाउन पनि आग्रह गरेका थिए । पौडेलले उर्जा उत्पादकहरुलाई आफ्नो मनोबल बढाइ विद्युत उत्पादनमा लाग्न आग्रह गरेका थिए ।


क्लिकमान्डु