घरजग्गा र ऊर्जा व्यवसायीको गुनासो: मौद्रिक नीतिमा हाम्रा मागलाई उपेक्षा गरियो



काठमाडौं । घरजग्गा तथा ऊर्जा व्यवसायीहरुले चालु आर्थिक वर्षको मौद्रिक नीतिले जलविद्युत र घरजग्गा व्यवसायीहरको मागलाई उपेक्षा गरेको गुनासो गरेका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को लागि शुक्रबार जारी गरेको मौद्रिक नीतिले जलविद्युत र घरजग्गा व्यवसायीहरुको मागलाई उपेक्षा गरेको व्यवसायीहरुले गुनासो गरेका हुन् । उनीहरुले अर्थतन्त्रलाई चलायमान बनाउने र मुलुकलाई समृद्ध बनाउने दुवै क्षेत्रलाई मौद्रिक नीतिले समेट्न नसकेको आरोप लगाए ।

व्यवसायीहरुले घरजग्गा व्यवसायीहरुका माग सम्बोधन गर्दा विगतको जस्तै घरजग्गा कारोबारमा विकृति आउँछ भन्ने भ्रममा राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेश नगरेको आरोप घरजग्गा व्यवसायीहरुको छ । मुलकलाई समृद्ध बनाउने क्षेत्र ऊर्जा भनिए पनि कार्यान्वयन गर्ने अवस्था सिर्जना नभएको उनीहरुले बताए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले इप्पानले राखेको दुई वटा मागलाई समेत मौद्रिक नीतिमा समावेश नगराइएको बताए । उनले मौद्रिक नीतिमार्फत निजी क्षेत्रका ऊर्जा विकासकर्तालाई कुनै पनि आकर्षित र सहजीकरण गर्ने नीति नआएको बताए ।

उनले मौद्रिक नीतिमार्फत निजी क्षेत्रका ऊर्जा विकासकर्तालाई कुनै पनि आकर्षित र सहजीकरण गर्ने नीति नआएकोप्रति इप्पानको गम्भीर आपत्ति रहेको उल्लेख गरेका थिए । उनले राष्ट्र बैंकका गर्भनरबाट समेत पटक पटक निजी क्षेत्रलाई आकर्षित गर्नेगरी नीति ल्याउने सार्वजनजिक घोषणा गरे पनि मौद्रिक नीतिमा कतै पनि माग सम्बोधन नहुनु निजी क्षेत्र विरोधी भएको आरोप लगाए ।

मौद्रिक नीति निजी क्षेत्रलाई हतोत्साहित बनाउने प्रपञ्च भएको पनि उनको आरोप थियो । लगानीमैत्री वातावरण निर्माण र निजी लगानीकर्तालाई आकर्षण गर्ने भनिए पनि मौद्रिक नीतिले दुवैमा निजी क्षेत्रलाई बेवास्ता गरेको उनको भनाइ थियो । साथै निजी क्षेत्रप्रतिको सरकारको व्यवहार र शैली ठीक उल्टो गतिमा अघि बढेको स्पष्ट संकेतहरु देखिन थालेको उनले बताए ।

‘राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति लचिलो र खुकुलो मौद्रिक नीति ल्याएको छ । सबैले स्वागत गरेका छन् । पछिल्लो समय लयमा आएको ऊर्जा क्षेत्र हो । तर मौद्रिक नीतिले उर्जा क्षेत्रमा केही गर्ला भन्ने थियो । हामीले धेरै ठूला माग राखिएका थिएनौं । दुईवटा मात्रै मागहरु थिए । मौद्रिक नीतिले ऊर्जा क्षेत्रलाई छोएन । एक लाइनमा समावेश गरे पनि त्यो लगानीकलाई संकुचन गर्ने गरी छ । ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धन गर्ने गरी अहिलको मौद्रिक नीति आएन,’ वरिष्ठ उपाध्यक्ष डाँगीले भने ।

३९ सय मेगावटका आयोजनाहरु पीपीए भएर फाइनान्स क्लोजर नभएर बसेको अवस्थामा त्यस्ता आयोजनाहरुलाई सहजीकरण गरिदिनुपर्ने आफूहरुको माग रहेको तर सरकारले त्यसमा चासो नदेखाएको डाँगीले बताएका थिए ।

यस्तै नेपाल घरजग्गा आवास तथा विकास महासंघका अध्यक्ष भेषराज लोहनीले मौद्रिक नीति तुलानात्मक रुपमा लचिलो आए पनि घरजग्गा कारोबारको क्षेत्रलाई उपेक्षा गरिएको बताए । उनले घरजग्गा व्यवसायीहरुका मागलाई मौद्रिक नीतिले कतै पनि समावेश नगरेको उनको गुनासो थियो ।

उनले भनेका छन्,‘मौद्रिक नीति तुलानात्मक रुपमा लचकता नै आयो । तर घरजग्गा कारोबारको क्षेत्रलाई मात्रै हेर्ने हो भने मौद्रिक नीतिले घरजग्गा कारोबारको क्षेत्रलाई समावेश भएन । व्यवसायीहरुले माग गरेका व्यवस्थाहरु समावेश गरेन । घरजग्गा कारोबारमा खुकुलो बनाउँदा पहिलाको जस्तै घरजग्गामा बुम ल्याउँदा र विकृति ल्याउने सोच्नुभयो होला । तर त्यो दृष्टिकोण गलत भयो ।’

घरजग्गामा धेरै ठूलो लगानी रहेको तर ठूलो पुँजी अड्किएको अवस्था रहेकोमा सरकारले त्यसलाई चलायमान बनाउन नसकेको उनको गुनासो थियो । साथै राष्ट्र बैंकले व्यवसायीहरुका माग सम्बोधन गर्दा नै त्यसरी रोकिएको पुँजी चलायमान हुने उनको तर्क थियो । ‘त्यो नगर्नु नै राष्ट्र बैंकको ठूलो भुल हो,’ लोहनीले बताए ।


क्लिकमान्डु