सरकारी जागिर छोडेर पाँचतारे होटलमा रमाए, सांग्रिला ब्राण्डलाई अन्तर्राष्ट्रियरुपमा चिनाएर अस्ताए




काठमाडौं । आम जनताको मोह भएको, पढेलेखेका व्यक्तिलाई स्थापित हुन सहज र जोखिम लिनै नपर्ने क्षेत्र मानिने सरकारी जागिरलाई चटक्कै छोडेर व्यवसायमा होमिएका श्यामबहादुर पाण्डे सफल पर्यटन व्यवसायी भएर अस्ताएका छन् । सोमबार ८९ वर्षको उमेर ग्राण्डी अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको छ ।

पाण्डेको निधनसँगै नेपालको पर्यटन क्षेत्रले एक धरोहर गुमाएको छ भने होटल क्षेत्रका अग्रणी नेपाली लगानीकर्ताका रुपमा चिनिएका व्यक्ति अस्ताएका छन । होटल संघ नेपाललका पूर्वअध्यक्ष तथा सांग्रिला होटलका संस्थापक श्यामबहादुर पाण्डेले पाँच दशक अगाडि नै निजामती सेवा छोडेर होटल व्यवसायमा सक्रिय भएका थिए ।

नेपालमा आम सर्वसाधारणको तर्फबाट पाँचतारे होटल स्थापना गरेका, पोखरामा त्यसलाई विस्तार गरेका र उनको पुस्ताले थप क्षेत्रमा चिनाउन थालेको सांग्रिला ब्राण्ड नेपालको पर्यटन चिनाउने जग हो । राजा महाराजाले मात्रै होटल खोल्ने जमानामा पाण्डेकाे साहस निकै सह्रानीय भएको पर्यटन व्यवसायी कर्ण शाक्यले बताएका छन ।

अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न ५ तारे होटेल तथा रिसोर्ट सञ्चालन गरेर पर्यटन प्रवर्द्धनमा विशेष योगदान गरेका पाण्डे होटल संघ नेपाल (हान)का पूर्व अध्यक्ष पनि हुन । सन् १९९१ देखि १९९३ सम्म होटल संघ नेपालको अध्यक्ष रहँद स्व. पाण्डेले यस क्षेत्रको विकास र सम्वर्द्धनमा योगदान गरेका थिए । पाण्डेको निधनबाट देशले पर्यटन विकासको अविभावक तथा सच्चा पर्यटन व्यवसायी गुमाएको होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताए ।

पाण्डे नेपालमा स्तरीय पाँचतारे होटल सुरुवात गर्ने व्यक्ति मात्रै नभएर जोखिम मोलेर व्यवसायमा हात हालेर पनि सफल भएका पर्यटन व्यवसायीका रुपमा चिानिन्छन । शाहको सम्झनामा पाण्डे एक असल पर्यटन व्यवसायी भएकै कारणले उनले चालेका पाइलालाई उनका पुस्ताले अबलम्बन गर्न सहज भइरहेको छ ।

स्व. श्यामबहादुर पाण्डेका दुई छोरा प्रसिद्ध बहादुर र प्रवीन छन । दुबै जना होटल व्यवसायमै सक्रिय छन् । प्रसिद्ध होटल संघ नेपालको पूर्व अध्यक्ष भइसकेको छन भने उनका भाइ प्रवीन अहिले हानको वरिष्ठ उपाध्यक्ष छन । प्रवीनले अहिले पाँचतारे होटल सञ्चालक समितिको संयोजकको रुपमा पनि काम गरिरहेका छन ।

श्यामबहादुर पाण्डेले देखाएको बाटोमा हिडेकै कारण उनका दुई पुस्ता अहिले नेपालको होटल व्यवसायमा सफल हुँदै गइरहेको छ । काठमाडौंको लाजिम्पार्टबाट सुरु भएको सांग्रिला होटल पोखरामा एउटा चलिरहेको छ भने अर्को स्तरीय तारे होटलको रुपमा निर्माण भइरहेको छ । होटल क्षेत्रमा श्यामबहादुरका नाती पुस्ता अहिले सक्रिय हुन थालेका छन् ।

नेपालको होटल क्षेत्र स्थापित गर्नमा प्रत्यक्ष योगदान दिने, विभिन्न नीति नियम र कार्यक्रममा श्यामबहादुरले गरेको योगदान होटल क्षेत्रले कहिल्यैपनि विर्सन नसक्ने खालेको बनेको पनि हानका अध्यक्ष शाहको बुझाइ छ।

स्वा. श्यामबहादुर पाण्डेसँगैका पुस्ता होटल व्यवसायी कर्ण शाक्यका नजरमा उनको योगदान राज्यले कहिल्यै भुल्न सक्दैन । सरकारी जागिर छोडेर जोमिख मोल्दै होटल व्यवसायमा आउनु र सफलता हुनु आम एक नेपाली नागरिकको लागि चानचुने कुरा थिएन् ।

जोखिम मोल्न सकेको, असाध्यै मेहनती र आफूले हात हालेको कामलाई फत्ते गर्नैपर्छ भन्ने मान्यताका प्रखर व्यक्तिका रुपमा पाण्डेलाई पर्यटन व्यवसायी शाक्यले सम्झिएका छन । स्व. पाण्डे शाक्यको मिल्ने साथी भएकोले उनको आनीबानी बुझेको हुँदा सन् १९९८ मा नेपालले मनाएको नेपाल भ्रमण वर्षमा उनले पाण्डेसँग धेरै सहयोग र सल्हाल लिएको शाक्य सम्झन्छन । शाक्यको नजरमा स्वर्गीय पाण्डेको लगनशीलता र कर्मशीलताले नै स्थापित होटेलियरको रुपमा चिन्न सकेका हुन ।


क्लिकमान्डु