अटो व्यवसायीको समस्या सुनेर ओलीले भनेः समाधानको पहलकदमी लिइन्छ



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधीमण्डलले प्रधानमन्त्री ओलीसग भेट गरी विभिन्न विषयहरुमा छलफल गरेको हो ।

सो अवसरमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याबारे संक्षिप्त रुपमा चर्चा गर्दे सरकारका विभिन्न कानुनी व्यवस्थाका कारण अटोमोबाइल व्यवसायी आफनो व्यवसाय सञ्चालन गर्न निरुत्साहित हुँदै गएको जानकारी गराउँदै नेपालको अटोमोवाइल व्यवसायलाई माथी उठाउन आवश्यक नीतिगत सुझावहरु पेश गरे । चौधरीले विशेषगरी अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन बैंकहरुबाट निजी सवारी साधन कर्जा प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियो ५० प्रतिशतलाई वृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने, चालु पुँजी कर्जा मार्गदर्शन २०७९ लागु भएपछि कर्जा लिएकालाई मात्रै चालुपुँजी मार्गदर्शन लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने बताए ।

छलफलमा चौधरीले नेपालमा विद्युतीय सवारी साधनको आयात बढ्दै गएको भएपनि सोही अनुरुप राजमार्ग तथा सहरमा चार्जिङ स्टेसनहरुको निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतीय सवारी साधनका सम्बन्धमा सरकारले स्थायी प्रकृतिको नीति नियम ल्याउनु पर्ने जिकिर गरे ।

चौधरीले दुई पाँग्रे सवारी साधनको सन्दर्भमा पनि पैठारीकर्ताले डिलरलाई बिल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई बिल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्थाका लागि समेत आग्रह गर्दै नेपालमा आयात भइरहेका दुई पाङग्रे सवारी साधनमध्ये करिब ९८ प्रतिशतभन्दा बढी आयात भारतमा निर्मित दुई पाङग्रे सवारी साधनहरु भएको तर हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज भारतमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज अनुसार नभई फरक साइजको भएकोले सवारी सञ्चालनको त्रममा अगाडीको सकरमा ठोकिने भएको कारणले चालकको सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको हुँदा इम्बोस्ड नम्बर प्रयोगको हकमा भारतमा लागु भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेट मध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गरि दिन समेत अनुरोध गरे ।

छलफलमा प्रधानमन्त्री ओलीले सवारी साधन, टायरट्युब, ब्याट्री तथा लुब्रिकेन्टस् उद्योगहरुको वर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो र जिज्ञासा राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहलकदमी लिइने आश्वासन दिए ।


क्लिकमान्डु