एभरेष्ट हस्पिटलको नि:शुल्क स्वास्थ्य शिविरमा ४२१ जनाले गरे जाँच, २७५ युनिट रगत संकलन



काठमाडौं । अबिरल झरीकाबीच शनिबार नयाँ बानेश्वरको एभरेष्ट हस्पिटलले बृहत नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विहान ८ देखि अपरान्ह ३ बजेसम्म चलेको शिविरमा ४२१ जनाले स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् ।

शनिबार नै भएको बृहत रक्तदान कार्यक्रममा १२६ जना व्यक्तिहरुले रक्तदान गरेको र २७५ युनिट रगत संकलन भएको हस्पिटलले जनाएको छ ।

अस्पतालका निर्देशक एवं प्रशासन प्रमुख दीपकचन्द्र बरालले नि:शुल्क नि:शुल्क आँखा जाँच शिविरमा १८९ जना व्यक्तिहरूले सेवा लिएको र करीव ३० प्रतिशतको सामान्य दृष्टि समस्या देखिएको बताए । यस्तै करीव १० प्रतिशतमा मोतिविन्दु र ६० प्रतिशत व्यक्तिहरूको आँखा सुक्खा हुने समस्या पाइएको बताए । उनले शिविरमा आई जाँच गराउने १३० जना व्यत्तीहरुलाई नि:शुल्क चश्मा बितरण गरेको बताए ।

यस्तै शिविरमा ११२ जनाले मिर्गौला जाँच गराएका छन् । जसमा ५९ जना व्यक्तिहरूमा मधुमेह, कोर्टिकल सिस्ट, उच्च रक्तचाप जस्ता समस्याहरू पाइएको छ । दन्त शिविर तर्फ १२२ जनाको जाँच तथा उपचार गरिएको छ । जाँच गराउन आउनेहरुमा दाँत किराले खाने, गिंजा सम्वन्धी समस्या बढी देखिएको थियो । साथै शिविरमा आएका सबै जनाको दन्त उपचार नसकिएपछि नाम लेखाएका बिरामीहरुलाई आगामी दुई महिनासम्म नि:शुल्क दन्त परीक्षण गरिने अस्पतालले जनाएको छ ।

यस्तै प्रयोगशाला परीक्षण तर्फ १६४ जनाको रगत जाँच गरिएको थियो ।

यता नि:शुल्क प्रयोगशाला परीक्षणमा १६४ जना व्यक्तिहरूले रगतको जाँच गरिएको थियो । त्यसमा व्लड सुगर, युरिया, क्रियाटिनन् लगायतका जाँच भएको हस्पिटलले जनाएको छ । यस्तै सहुलियत दरको अल्ट्रासाउण्ड सेवामा १५२ जनाले सेवा लिएका छन् । सो अवसरमा २०० बढी महिलालाई नि:शुल्क रुपमा स्यानीटरी प्याड वितरण भएको थियो ।

यसअघि शनिबार नै अस्पतालले ब्लड बैंक सेवा, हेमोडायलासिस सेवा संगै दन्त विभाग, नेत्र विभाग र आईसीयू विभागको औपचारिक शुभारम्भ गरेको छ । शुक्रबार मात्रै पदबाट राजिनामा दिएका (हालसम्म स्वीकृत नभएको) स्वास्थ्य मन्त्री प्रदीप यादवले ती विभागहरुको उद्घाटन गरेका थिए ।

सो अवसरमा बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष रामकुमार के.सी. वडा नं. १० का वडा सदस्य निरोज अर्याल लगायतको उस्थिति थियो । उक्त अवसरमा हस्पिटलले नेपालको आँखा उपचारको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै प्राडा रामप्रसाद पोखरेल आँखा बालाई सम्मान गरेको थियो ।

हस्पिटलका निर्देशक बरालले प्रतिकुल समयकाबीच पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरिएको बताए । उनले आगामी दिनमा पनि नागरिक लक्षित नि:शुल्क सेवा सञ्चालन गर्ने जानकारी दिए ।


क्लिकमान्डु