राति ११ बजेपछि बालकोटबाट निस्किएका थिए ओली, सवा १२ बजे चपलीहाइटमा देउवासँग सम्झौता



काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेले नयाँ सरकार गठनको सहमति भएको छ । दुबै दलका शीर्ष नेताहरुबीच सोमबार मध्यराति राति यस्तो सहमति बनेको हो ।

नयाँ सहमति अनुसार एमाले अध्यक्ष केपी ओली नेतृत्वमा नयाँ सरकार बन्ने र त्यसको डेढ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन् ।

एमालेले प्रधानमन्त्री अर्थमन्त्रीसहितका मन्त्रालयहरू पाउने र कांग्रेसले गृहसहित को मन्त्रालय पाउने सहमति भएको छ । एमाले ९ र कांग्रेसले १० मन्त्रालय लिने सहमति दलहरुबीच भएको स्रोतको दाबी छ ।

यस्तै पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमतिमा उल्लेख छ । संविधानसँगै निर्वाचन प्रणाली संशोधन गर्ने पनि सहमति बनेको छ ।

प्रदेशको नेतृत्वका विषयमा पनि दुई दलबीच सहमति भएको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशमा एमालेको मुख्यमन्त्री बनाउने सहमति भएको छ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूपश्चिम प्रदेशको नेतृत्व गर्ने सहमति भएको छ ।

मधेस प्रदेशको नेतृत्व भने मधेस केन्द्रित दलहरुलाई दिने सहमतिमा उल्लेख छ ।

मध्यरातमा हस्ताक्षर

केही समय यताको छलफल र गृहकार्यपछि दुई दलका शीर्ष नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । नयाँ सरकार गठनबारे नेताहरूले मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेलसँग नयाँ सरकार गठन प्रक्रियाको बारेमा छलफल गरेका थिए ।

सहमति अघि गत शनिबारदेखि नेताहरुबीचको छलफल र भेटवार्ता चलिरहेको थियो । ओली र देउवाबीच शनिबार ३ घण्टा लामो छलफल भएपछि सत्ता समीकरण फेरिन लागेको बारे चर्चा भएको थियो । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग केही चरणमा वार्ता गरेका ओलीले देउवासँग पनि कुराकानी गरेका थिए ।

सोमबार बिहानदेखिनै प्रचण्ड-ओली, देउवा-ओली चरण चरणमा छलफलमा बसेका थिए ।

कांग्रेस र एमालेका दोस्रो तहका नेताहरु शंकर पोखरेल र रमेश लेखकले सोमबार साँझ अन्तिम ड्राफ बनाएर अध्यक्षहरुलाई बुझाएपछि मध्यरातमा सहमति जुटेको थियो ।

एमाले महासचिव शंकर पोखरेललाई लिएर अध्यक्ष ओली सवा ११ बजे बालकोटबाट निस्किएका थिए । चपलीहाइटस्थित एक उद्यमीको निवासमा देउवा र रमेश लेखक लगायत कांग्रेस नेताले ओलीलाई कुरिरहेका थिए । दुई शीर्ष नेताले मध्यरात सवा १२ बजे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

यद्दपि हस्ताक्षर गरिएको सहमतिपत्र भने सार्वजनिक भएको छैन ।

एमालेले प्रधानमन्त्रीमा दाहाललाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।


क्लिकमान्डु