‘गृहमन्त्रीले फाइल धेरै हेर्नुभयो, विपद्मा परेका जनताको फाइलतिर ध्यान जाओस्’
काठमाडौं । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले विपद्मा परेका नागरिकको उद्धार र पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले मनसुनको शुरुवाती चरणमै देशका विभिन्न ठाउँमा धनजनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले विराटनगर डुबानमा परेका कारण जनजिवन प्रभावित भएको भन्दै डुबानमा परेका नागरिकलाई उद्धार गर्न माग गरे । उनले सरकारले ठूला–ठूला कुरा गरेर मात्रै नहुने भन्दै डुबानमा परेका नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।
‘विराटनगर अहिले जलमग्न छ । बाढीले गर्दा विराटनगरमा कुनै किसिमको आवत्जावत् गर्ने स्थितिमा छैन । सरकारले कसरी त्यसको व्यवस्थापन गर्ने ? कसरी चाँडै उद्धार गर्ने ? त्यो कुराको ध्यान दिइराखेको छैन । सरकारलाई विशेष ध्यान दिन भन्न चाहन्छु कि कुराले चिउरा भिज्दैन । त्यसको निम्ति दही, मोही चाहिन्छ । सरकारले तुरुन्त त्यहाँको उद्धार गर्नुपर्यो । ठूला ठूला कुरा गरेर भएन । बस्ती डुबेको छ । त्यो कुराको व्यवस्थापन सरकारले तुरुन्त गर्नुपर्यो । विराटनगरमा पानीको निकासका लागि कम बजेट विनियोजन हुँदा वर्षेनि समस्या आउने गरेको छ,’ सांसद मोदीले भने ।
प्रतिनिधिसभा सदस्य रामहरी खतिवडाले ताप्लेजुङ, ओखलढुङ्गा लगायतका ठाउँमा गत वर्ष गएको विपद्को क्षतिपूर्ति र राहत जनताले आजसम्म नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले गृहमन्त्रीले विपद्का फाइलहरु खोलेर जनतालाई राहत दिनुपर्ने बताए । उनले जनताको पुनःस्थापना गर्ने र जनतालाई राहत दिने फाइलहरु खोल्न गृहमन्त्रीलाई आग्रह गरे ।
उनले भने, ‘एक वर्षसम्म गृहमन्त्रालयको विपद् प्राधिकरण अन्तर्गत हुने काममा अहिलेसम्म केही भएको छैन । ती घरहरुलाई व्यवस्थापन गर्न र विपद्बाट पीडितहरुलाई स्थानान्तरण गर्न अथवा पुनःवासको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्न चाहन्छु । एक वर्ष अगाडि ताप्लेजुङ, ओखलढुङ्गा लगायतका ठाउँमा भएका विपद्का फाइलहरु गृहमन्त्रालयमा थन्किएर बसेका छन् । म गृहमन्त्रीज्युलाई अनुरोध गर्न चाहन्छु, तपाईँ फाइल धेरै हेरिरहनुभएको छ । कमसेकम विपद्मा परेका फाइलहरु, जनतालाई राहत दिने फाइलहरु, पुनःस्थापना गर्ने फाइलहरु ती फाइलबाट जनतालाई राहत हुन्छ भने त्यस्ता फाइलतिर पनि गृहमन्त्रीको ध्यान जाओस् ।’
प्रतिनिधिसभा सदस्य कीरण शाहले विपद्मा परेर नागरिकको मृत्यु भइरहँदा र विस्थापित भइरहँदा मन्त्रीहरु भने मिसन ०८४ मा व्यस्त भइरहेको भन्दै कटाक्ष गरे । उनले मधेश प्रदेशका विभिन्न भू–भागहरु डुबानमा परेको भन्दै उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराए ।
‘गत वर्ष प्राकृतिक प्रकोपले कम्तीमा ५० जनाको मृत्यु भएको र सयौँ विस्थापित भएका थिए । यस वर्ष पनि मृत्यु र विस्थापितको क्रम जारी छन् । मन्त्रीहरु भने मिसन ०८४ मा व्यस्त छन् । यो निकै दुःखद् हो । मधेस प्रदेशका केही भूभागहरु डुबानमा परेको छ । मृत्युवरणमा परिसकेको छ । उद्धार गर्न जरुरी देखिएको छ,’ शाहले भने । आकस्मिक समयमा बोल्ने अन्य सांसदहरुले पनि आ–आफ्नो क्षेत्रमा विपद्का कारण जनधनको क्षति भएको भन्दै राहत, उद्धार तथा पुनःस्थापनाको माग गरेका थिए ।