नेपाली अलैंची विश्व बजारमा पठाउन सरकारले पहल गरिरहेको छः कृषिमन्त्री



काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा उत्पादित अलैंचीलाई विश्व बजारमा निर्यातको लागि सरकारले पहल गरिरहेको बताएकी छन् ।

सोमबार ललितपुरमा आयोजित ‘अलैंचीबारे वर्तमान स्थिति अवसर र चुनौती’ विषय राष्ट्रिय सम्मेलनमा बोल्दै कृषिमन्त्री साहले विश्व बजारमा नेपाली अलैंचीको माग बढ्दै गएकाले जीटुजीमार्फत निर्यात गर्ने गरी समन्वय र छलफल भइरहेको जानकारी दिइन् ।

उनले अलैंची विश्व बजारमा निर्यातको लागि नीतिगत रुपमा सहजीकरण गर्नको लागि पुराना कानूनलाई संशोधन गर्ने तयारमा सरकार रहेको बताइन् ।

मन्त्री साहले अलैंची निर्यातको लागि नीतिगत र राजश्वको विषयलाई नीतिगत रुपमा सुधार गर्न जरुरी रहेको बताइन् । उनले कृषिमा बैंकको कर्जा र सरकारले लिने अनुदान कृषि गर्न चाहने किसानहरुको हातमा पुग्न नसकेको स्वीकार गरिन् ।

उनले कृषिमा राम्रो काम गर्नेहरु पुँजीको अभावमा काम गरिरहने तर काम गर्न नचाहने काम चोरहरु फाइल लिएर हिँडेकाहरु अनुदान लिएर दुरुपयोग गरेको बताइन् ।

समृद्धि मुलुक बनाउने र जनतालाई सुखी बनाउने सपना लिएर हिँडे पनि यस्त विकृतिबाट देश समृद्ध हुन नसक्ने उनको भनाइ छ ।

सरकारले अब यस्ता विकृति र गलत काम गर्नेको पहिचान गरी कारबाही गर्ने मन्त्री साहको भनाइ छ ।

कृषि क्षेत्रमा रहेको विकृती मन्त्री एकलैले हटाउन नसक्ने भन्दै सबैको साथ सहयोग आवश्यक रहेको उनले बताइन् ।


क्लिकमान्डु