बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ९९ करोडको बजेट



काठमाडौं । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएको छ ।

आज उपमहानगरकी उपप्रमुख सावित्रा अर्यालले नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा उक्त रकम बराबरको बजेट पेश गरेकी हुन् ।
आगामी आवका लागि पेश गरेको २ अर्ब ९९ करोड बजेटमध्ये चालुतर्फ ४८.६५ प्रतिशत र पूँजीगततर्फ ५१.३५ प्रतिशत विनियोजन गरिएको छ ।
उपमहानगरले ८५ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छ भने बाँकी संघीय सरकारले दिने विभिन्न शिर्षकको अनुदान रहेको छ ।

उपमहानगरले छोरी पढाऔं, समाज बनाऔं कार्यक्रम अन्तर्गत बुटवल टेक्निकल इन्ष्टिच्युटसँगको सहकार्यमा ४० जना छात्राहरुलाई निःशुल्क प्राविधिक शिक्षा दिने र त्यसका लागि २५ लाख विनियोजन गरेको छ ।

यस्तै बजेटले लुम्बिनी बस टर्मिनलमा विद्युत, खानेपानी, खाजाघर, शौचालय र स्नानघर, वाईफाई र विश्रामस्थल निर्माण गर्न १ करोड बजेट विनियोजन गरेको छ । यस्तै बजेटले धागो कारखानादेखि तिनाउ पुलसम्म ट्राफिक लाइट जडानका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

निजी तथा सार्वजनिक क्षेत्रसँग सहकार्य गरी बुटवल उपमहानगरपालिका–११ मा १०० बेडको नगर अस्पताल स्थापनाका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बुटवलदेखि नुवाकोट जाने पैदलमार्गका लागि १ करोड, पैदल मार्गमा शिवमूर्ति बनाउन १ करोड रुपैयाँ, हिलपार्कमा बुद्धको मूर्ति बनाउन १ करोड रुपैयाँ विनियोजन गरेको छ ।


क्लिकमान्डु