अब मलेसियनभन्दा नेपाली काठ महँगो पर्दैन, सरकारले ४ खर्ब रुपैयाँको बिक्री गर्छः वन मन्त्री



काठमाडौं । वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडीले सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्री सुडीले सरकारले मन्त्रिपरिषद्बाट काठको मूल्य ३५ प्रतिशतले घटाउने निर्णय गरेको भन्दै अब सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताए ।

विगतमा काठको मूल्य बढी भएको कारणले नेपालका काठहरु बिक्री हुन नसकेको उनको भनाइ छ ।

एक, दुई महिना भित्रमा नै सबै नियम, कानून मिलाएर नेपाली काठलाई मलेसियन काठभन्दा महङ्गो पर्न नदिने उनको भनाइ छ।

वन ऐन २०२९ लाई छिटोभन्दा छिटो संशोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्री सुडीले आफू त्यसमा दृढ सङ्कल्पित रहेको बताए ।

वन ऐन संशोधन गर्नका लागि संसदमा छिटो पेश गरिने उनले बताए ।

मन्त्री सुडीले यसो भने

यही एक, दुई महिनाको अन्तर्गत सबै नियम, कानुन बनाएर हाम्रो काठ मलेसियाको काठभन्दा महङ्गो पर्दैन । वन ऐन २०२९ को लागि म एकदम दृढ संकल्पित छु । यो ऐनलाई सुधार गर्नुपर्छ । जुन कानुन राजाको समयमा, पञ्चायति व्यवस्थाको समयमा बनेको त्यो कानुनले अहिलेपनि वन मन्त्रालय सञ्चालन गर्नुहुन्छ । यो कतिसम्म जायज छ ? त्यसकारणले यो छिटोभन्दा छिटो संसदमा आउँछ । तर अल्पकालमा हामीले मन्त्रिपरिषद्बाट ३५ प्रतिशत पैसा घटाएको छौँ । किनकी त्यसैकारणले ४ वर्षदेखि हाम्रो काठको एक पैसा पनि आइराखेको छैन । म तपाईहरुको विश्वास दिलाउन चाहन्छु कि सरकारले यसपालि ४ खर्ब रुपैयाँको काठ बेच्छ । र ४ खर्ब रुपैयाँ वन मन्त्रालयको आम्दानी हुन्छ ।


क्लिकमान्डु