रास्वपाको चियापानमा ओली: कपडा बुने, अल्लोको कपडा र च्याउ उपहार पाए!



काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भए । चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रीहरु, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी भए ।

त्यस्तै उद्योगीसमेत रहेका कांग्रेस सांसद विनोद चौधरी लगातयका सांसादहरु चियापानमा पुगेका छन् । चियापानमा पुगेका नेताहरुले रास्वपाको कार्यालयमा राखिएको घण्टी बजाएका थिए ।

चियापानमा सबैभन्दा ढिला गरि एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका थिए । रास्वपाले कार्यालयमा विभिन्न नेपाली उत्पादनको स्टलहरु राखेको थियो भने कपडा बुन्ने तान राखेको थियो ।

ओलीले नेपाली उत्पादनहरुको रुचीपूर्वक अवलोकन गरेका थिए भने केही बेर तानमा कपडासमेत बुनेका थिए । त्यसक्रममा ओलीलाई अल्लो लगायतबाट बनाइएका कपडा र नेपाली उत्पादन च्याउ उपहार दिइएको थियो ।


क्लिकमान्डु