सरकारको ऋण २४ खर्ब नाघ्यो, हरेक नेपालीलाई साढे ८२ हजारको भार




काठमाडौं ।सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को जेठसम्ममा लिएको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाघेको छ ।

सार्वजनिक ऋण व्यवस्थापक कार्यालयको तथ्यांकअनुसार आन्तरिक र बाह्य ऋण जेठसम्ममा २४ खर्ब ९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । यस्तो ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आधारमा ४२ प्रतिशत पुगेको छ ।

सार्वजनिक ऋण गत असार मसान्तको तुलनामा जेठसम्ममा १ खर्ब १० अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको जेठ सम्ममा सार्वजनिक ऋण लागि २ खर्ब ७१ अर्ब १९ करोड रुपैयाँ खर्च भएको छ । यस्तो खर्चमा आन्तरिक ऋणको लागि २ खर्ब २७ अर्ब रुपैयाँ र बाह्य ऋणको लागि ४३ अर्ब रुपैयाँ खर्च भएको पनि उल्लेख छ ।

जेठसम्ममा आन्तरिक ऋणको साँवा भुक्तानी १ खर्ब ६१ अर्ब रुपैयाँ भएको छ भने ब्याज खर्च ६५ अर्ब ५७ करोड रुपैयाँ भएको पनि उल्लेख छ ।

जेठसम्ममा भएको बाह्य ऋणको लागि साँवा भुक्तानी ३५ अर्ब ७० करोड र ब्याज भुक्तानी ८ अर्ब २९ करोड रुपैयाँ भएको छ ।

यस्तो तथ्यांकअनुसार हालसम्म सरकारले सार्वजनिक ऋण भुक्तानीका लागि १ खर्ब ९७ अर्ब ३२ करोड रुपैयाँ साँवा भुक्तानी भएको छ भने ७३ अर्ब ८६ करोड रुपैयाँ ब्याज भुक्तानी भएको पनि उल्लेख छ ।

सरकारले यो वर्षको पछिल्लो ११ महिनामा २ अर्ब २७ अर्ब १९ करोड रुपैयाँ आन्तरिक ऋण संकलन गर्दा बाह्य ऋण भने ८२ अर्ब ६७ करोड रुपैयाँ संकलन गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापक कार्यालयको तथ्यांकलाई हिसाब गर्दा प्रत्येक नेपालीको थाप्लोमा ८२ हजार ६ सय २५ रुपैयाँ ऋण लागेको छ । २०७८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार जना छ । यो जनसंख्यालाई आधार मान्दा प्रत्येक नेपालीलाई औषतमा ८२ हजार ऋण लागेको हो ।


क्लिकमान्डु