गण्डकीमा गोकुलधाम र स्कुललाई माछापुच्छ्रे बैंकको सहयोग



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ । बैंकले पोखरा महानगरपालिका-१४, बाच्छीडुवामा सञ्चालित पुष्करणी परोपकार गोकुलधाम र बाग्लुङको जैमिनी नगरपालिकास्थित छिस्तीमा रहेको बसन्त माध्यमिक विद्यालयलाई सहयोग गरेको हो ।

गोकुलधामलाई बैंकले सडकमा जथाभावी छोडिएका पशु चौपाया र गाईको संरक्षण एंव व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको हो ।

छाडा पशुचौपायाको व्यवस्थापनले सडकमा दुर्घटना न्यूनिकरण हुनुका साथै सडकमा छोडिएका पशुचौपायाको जीवन रक्षा हुने बैंकले अपेक्षा गरेको छ । असार ४ गते आयोजित कार्यक्रमबीच माछापुच्छे बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले पुष्करणी परोपकार गोकुलधामलाई यसका लागि आर्थिक सहयोग प्रदान गरेका हुन् ।

यस्तै बैंकले बाग्लुङको जैमिनी नगरपालिकाको छिस्तीमा रहेको बसन्त माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणको लागि बैंकले सहयोग गरेको छ । आर्थिक स्रोतको अभावका कारण निर्माणाधिन विद्यालय भवनको निर्माण कार्यमा अवरोध हुँदा बैंकले उक्त विद्यालयको निर्माणाधिन भवनको निर्माण कार्य सम्पन्न गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

असार ४ गते नै बैंक सञ्चालक समिति सदस्य बन्दना केसी तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा विद्यालयको नवनिर्मित भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वितीतिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।


क्लिकमान्डु