श्री एयरलाइन्सको भरतपुरमा परीक्षण उडान, अब बुध्द एयरसँग प्रतिस्पर्धा गर्ने



काठमाडौं । निजी क्षेत्रको आन्तरिक उडानको वायुसेवा कम्पनी श्री एयरलाइन्सले चितवको भरतपुर विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको छ ।

श्री एयरलाइन्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङको उपस्थितिमा भरतपुर विमानस्थलमा परीक्षण उडान गरेको हो । श्रीको ८० सिट क्षमताको क्यु ४०० नामक जहाजबाट भरतपुर परीक्षण उडान भएसँगै अब यसले नियमित उडान गर्ने भएको छ ।

हाल भरतपुरमा बुध्द एयरको ४७ सिट क्षमताको एटीआर-४२ जहाजले मात्रै उडान गर्दै आएको छ ।

बुध्द एयरको हाल दैनिक ९ उडान भरतपुर विमानस्थलमा हुँदै आएको छ । बुध्दले काठमाडौंबाट दैनिक ८ वटा भरतपुरमा र भरतपुरबाट दैनिक एक उडान पोखरामा गर्दै आएको छ । बुध्द एयरसँग हाल एटीआर ७२ नामक जहाज ३ वटा छ । यो जहाजको उडान साइकल सकिन लागेले केही समयपछि भरतपुर उडान हुँदैन । त्यो भन्दा अगाडि नै श्रीमार्फत उडान गर्न लगाएर विकल्प खोज्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार श्रीले उडान सुरु गरेपछि केही समय बुध्द एयरसँग प्रतिस्पर्धा हुने छ भने केही समयपछि अर्को प्रकृतिका यो विमानस्थलमा उडान गर्ने जहाज नभएसम्म एकाधिकार श्रीले जमाउन सक्छ ।

श्री एयरलाइन्सले क्यु ४०० ड्यास ८ नामक भरतपुरमा पहिलो पटक सफल उडान गरेसँगै अब नियमित उडानको तयारी गर्ने भएको जानकारी दिएको छ ।

श्री एयरलाइन्सले सेवा सुरु गरेपछि यात्रुहरुले सहुलियत भाडादरमा यात्रा गर्न पाउने भएका छन् । परीक्षण उडान पश्चात अब नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाए पश्चात नियमित उडानहरु संचालन हुने श्री एयरलाइन्सका कर्पोरेट प्रवन्धक अनिल मानन्धरले बताए ।


क्लिकमान्डु