‘महासंघले रोक्दा प्रवर्द्धन कोषको पैसा परिचालन भएन’



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राष्ट्रिय सहकारी महासंघले रोकेका कारण सहकारी प्रबर्धन कोषमा रहेको पैसा परिचालन हुन नसकेको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा आफुले १ सय दिनमा गरेका १०१ कामका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । ‘त्यो कोषमा अलिकति पैसा छ, त्यसमा राष्ट्रिय सहकारी महासंघको आफ्नै दावा छ’ उनले भने, ‘उनीहरुले त्यसलाई रोकेको अवस्था छ । किन रोके रु एकातिर सहकारीका पीडितहरु छन् भन्ने कुरा आउँछ, उता महासंघले रोकेको छ । त्यसका लागि विधि नबनाई परिचालन गर्न सकिँदैन ।’ अहिलेसम्म पैसा जम्मा गर्ने विधि बनेको र परिचालन गर्ने विधि नबनेको उनको भनाइ छ ।

प्रबर्धन कोषलाई परिचालन गर्ने बिषयमा मन्त्रालयमा २ पटक आफुले बैठक राखेको अधिकारीले बताए । करिब ९ करोड रुपैयाँ रहेको छ । सहकारी संस्थाहरुले उक्त कोषमा नाफबाट ०.५ प्रतिशत योगदान गर्ने गरेका थिए ।

मन्त्री अधिककारीले सहकारीमा कतिपयले थोरै थोरै पैसा जम्मा गरेको र कतिपयले अर्को संस्थामा रहेको पैसा सहकारीमा ल्याएर राख्ने गरेको बताए । त्यो पैसा कस्तो हो भनेर पनि हेर्नु पर्ने बेला भएको उनको भनाइ छ ।

‘कोही बास्तविक बचतकर्ता भएको र कोही धेरै सम्पती भएर सहकारीमा पैसा राख्नेहरु पनि छन्’ उनले भने ‘कतिपयले एक ठाउँबाट ब्याजमा ल्याएर सहकारीमा धेरै ब्याजका लागि राख्ने गरेका छन् । यो पहिचान गर्न आवश्यक छ ।’
अहिले सहकारीका समस्या समाधानका लागि मन्त्रालयले धेरै काम गरेको बताए । केही काम अर्थ, केही काम कानून मन्त्रालयमा गएर रोकीएको उनको भनाइ छ ।


क्लिकमान्डु