पोखरा विमानस्थल उद्घाटन भएको डेढ वर्षपछि विदेशी वायुसेवाको चासो, पहिलो उडान बंगलादेशी एयर अस्ट्राले गर्ने



काठमाडौं । बंगलादेशको नयाँ वायुसेवा कम्पनी एयर अस्ट्राले ढाका–पोखरा उडान गर्ने भएको छ । बंगलादेशी एयरलाइन्स कम्पनीले ढाकाबाट पोखरा सीधा उडान गर्ने तयारी गरेको हो ।

अस्ट्राले ढाका–पोखरा उडानका लागि अनुमति माग्दै नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष आवेदन दिएको छ । प्राधिकरणले अनुमतिपछि यो वायुसेवाले ढाका पोखरा रुटमा उडान गर्ने छ ।

एयर अस्ट्राले उडान अनुमति पाए यो वायुसेवाको पहिलो अन्तर्राष्ट्रिय उडान नेपालको पोखरा हुनेछ । नेपालको लागि पनि विमानस्थल सुरु भएपछिको पहिलो व्यवसायीक अन्तर्राष्ट्रिय उडान हुने छ ।

 डेढ वर्ष अघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हाल ठप्प छ । यो विमानस्थलबाट जम्मा २ वटा मात्रै चार्टर उडान भएको छ । अन्तर्राष्ट्रिय उडान नपाएका कारण संरचना तयारी अवस्था मात्रै हुँदा ऋणकाे दायित्व मात्रै बढिरहेको छ ।

सो विमानस्थलबाट व्यवसायिक उडान हुने नसकेका कारण सरकारले चिनियाँ ऋणमा बनाएको लगानी खेर गइरहेको छ । पोखरामा यो विमानस्थल बनाउन चीनले नेपाल सरकारलाई करिब २२ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । यो विमानस्थल अन्तर्राष्ट्रिय भएपनि हाल पोखरामा आन्तरिक उडान मात्र भइरहेको छ ।

एयर अस्ट्र्रा ले देखाएको एयर रुट ।

तीन वर्षअघि स्थापित बंगलादेशको एयर अस्ट्रा उडान संख्या बढाउन आक्रामक रुपमा प्रस्तुत भएको छ । एयर अस्ट्रा एयरवेजको हाल ३ वटा जहाजले ४ गन्तव्यमा उडान गरिरहेका छन् । कम्पनीको व्यावसायिक उडान सुरु भएको १८ महिनामात्र भएको छ । अस्ट्राले ढाकाबाट सिलेट, सैदपुर, चटगाउँ, कक्समा उडान गर्छ ।

पोखरा विमानस्थलका प्रवक्ता जसोदा सुवेदीका अनुसार विमानस्थलमा हाल कुनै पनि अन्तर्राष्ट्रिय उडान छैन । यो विमानस्थलमा उडान गर्न कुनै पनि वायुसेवा सिधा आउँदैन् । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रकृया पूरा गरेपछि मात्रै आउने हो । पोखरामा वंगलादेशसहित अरु मुलुकले पनि नियमित भिजिट गरिरहेकोले उडानको तयारी भएको हुनसक्ने सुवेदीले बताइन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च कर्मचारीका अनुसार आवश्यक प्रक्रिया पूरा गर्ने चरणमै रहेको जानकारी उक्त वायुसेवालेअनौपचारिक कुराकानीबाट दिएकाे छ । यो वायुसेवाले आवश्यक चासो देखाएर अनौपचारिक कुराकानी गरिरहेको भएपनि औपचारिक रुपमा आवेदन भने आइसकेको छैन् ।


क्लिकमान्डु