विदेशी मुद्राको सञ्चिति १४ अर्ब ५४ करोड डलर पुग्यो, अब कस्तो होला अर्थतन्त्र ?



काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा गत वर्ष भन्दा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढ्नुको साथैं आयात २.४ प्रतिशतले घट्दा अर्थतन्त्रको बाह्य क्षेत्र थप बलियो अवस्थामा पुगेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा गत वर्षको सोही अवधी भन्दा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढ्दै ११ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।

रेमिट्यान्स आप्रवाह बढेर विदेशी मुद्रा थुप्रिएको समयमा आयातमा आएको गिरावटले चालु खाता बचत समेत ह्वात्तै बढेको छ ।

राष्ट्र बैंकका अनुसार बैशाख मसान्तमा चालु खाता १ खर्ब ९३ अर्ब रुपैयाँले बचतमा छ । गत वर्ष बैशाख मसान्तमा चालु खाता ६३ अर्ब ७४ करोडले घाटामा थियो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा विदेशी मुद्राको सञ्चिति २४.२ प्रतिशतले बढ्दै १४ अर्ब ५४ करोड डलर पुगेको छ ।

चालु आर्थिक वर्षमा भईरहेको आयातका आधारमा हाल कायम रहेको विदेशी मुद्राको सञ्चितिले १२.६ महिनाको बस्तु तथा सेवा आयात गर्न पुग्नेछ ।

देशबाट बाहिरिने भन्दा भित्रिने विदेशी मुद्रा वृद्धि हुँदा बैशाख मसान्तमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब रुपैयाँले बचतमा गएको छ ।

गत वर्ष बैशाख मसान्तमा शोधनान्तर स्थिति २ खर्ब ९ अर्ब रुपैयाँले बचतमा थियो ।

बास्तबिक क्षेत्र, वित्तिय क्षेत्र, सार्वजनिक वित्त र बाह्य क्षेत्र गरी अर्थतन्त्रका ४ प्रमुख क्षेत्र मध्ये विदेशी मुद्राको सञ्चिमा भएको रेकर्ड सुधारले अर्थतन्त्रको बाह्य क्षेत्र सबल अवस्थामा पुगेको छ ।

आन्तरिक मागमा आएको गिरावटले उपभोग्य बस्तुको आयातमा घटेको अवस्थामा रेमिट्यान्स आप्रवाह ह्वात्तै बढेकाले अर्थतन्त्रको बाह्य क्षेत्र बलियो अवस्थामा पुगेको हो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा भएको वृद्धिले अर्थतन्त्रको बाह्य क्षेत्र बलियो बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेपनि आन्तरिक बजारमा उपभोग गर्ने जनसंख्यामा आएको गिरावटले अर्थतन्त्र अन्य ३ क्षेत्रलाई नकारात्मक असर गरेको छ ।

सरकारले वित्त नीति मार्फत व्यक्तिको आम्दानी बढाउन नसक्दा बजारमा बास्तबिक माग बढ्न सकेको छैन । अर्थतन्त्रको बलियो बाह्य क्षेत्र रहेको आधार देखाउँदै राष्ट्र बैंक सहज कर्जा लिने वातावरण बनाउँदै बजार चलायमान बनाउने गलत बाटो तर्फ अगाडी बढ्न खोजिरहेको छ ।

राष्ट्र बैंककै अधिकारी राष्ट्र बैंकले बास्तबिक क्षेत्र र सार्वजनिक वित्त भन्दा पनि वित्तीय क्षेत्र बलियो अवस्थामा रहे/नरहेको एकिन गर्दै नीति लिनु पर्ने बताउँछन् ।

बार्षिक बिन्दुगत आधारमा महँगी ४.४० प्रतिशतमा सिमित हुँदा सर्वसाधारणलाई केही सहजता भएपनि रोजगारी सिर्जना तथा आम्दानी बढाउने गरी प्रयास नहुँदा समग्र अर्थतन्त्र समस्याउन्मुख भइरहेको छ ।

बैंक तथा वित्तीय संस्था र सहकारी जोड्दा कुल ग्राहस्थ उत्पादनको १०० प्रतिशत भन्दा बढी कर्जा बिस्तार भइसकेको अवस्थामा राष्ट्र बैंकका केही अधिकारीहरु थप कर्जा विस्तार गरेर बजारमा आर्थिक गतिविधी बढाउने पक्षमा छन् ।

अर्थतन्त्रको बाह्य क्षेत्र बलियो भएको आधारमा राष्ट्र बैंकले सहज कर्जा विस्तार गर्ने गरी लचिलो नीति लियो भने राजस्व संकलन बढ्दै सार्वजनिक वित्तमा केही सुधार भएपनि फेरी अर्थतन्त्रको बाह्य क्षेत्र तथा वित्तीय क्षेत्र निकै कमजोर अवस्थमा पुग्ने निश्चित छ ।


क्लिकमान्डु