अर्थमन्त्रीले फोटो खिचाउने ‘बजेट झोला’ किन छालाको हुन्छ ?



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आज संसदको स‌युक्त बैठकमा आर्थिक वर्षको २०८०/०८१ को बजेट सार्वजनिक गर्दैछन् । त्यसका लागि करिब सबै तयारी सकिएको छ ।

तर के तपाईलाई थाहा छ ? बजेट भाषण गर्नुभन्दा अगाडि अर्थमन्त्रीहरुले ब्रिफकेससँग पोज दिएर किन फोटो खिचाउँछन ? यो चलन नेपालमा मात्रै होइन विश्वका सबै देशमा छ ।

यसको जवाफ बजेट शब्द आफैंमा छ । Budget शब्द ल्याटिन भाषाको Bauge र फ्रेन्च भाषाको Bougette बाट लिइएका हो। जसको अर्थ छालाको सानो थैली भन्ने हुन्छ । त्यसैले छालाको झोला प्रयोग सुरुदेखि नै गर्न थालिएको हो । तर छालाकै झोला प्रयोग गर्नुपर्छ भन्ने नियम भने होइन, परम्परागत रुपमा चलि आएको मान्यताको निरन्तरतामात्रै हो ।

विश्वमा बजेट प्रणालीको सुरूवात सन् १७३३ मा बेलायतबाट भएको हो । जतिबेला बेलायतका तत्कालीन प्रधानमन्त्री रवर्ट वालपोलले कालो छालाको झोलामा राखी बजेट पेश गरेका थिए । त्यसयता छालाकै झोला प्रयोग हुँदै आएको छ ।

विश्वपरीप्रेक्षमा हेर्ने हो भने बजेट राखिने छालाको झोला नै हो । जसको रंग कालो, रातो र खैरो भएको पाइन्छ । नेपालमा गत वर्षभन्दा अगाडि अधिकांश अर्थमन्त्रीहरुले कालो ब्रिफकेस प्रयोग गरेको पाइन्छ । जसको बाहिरपट्टी रातो रिबनले बेरिएको हुन्छ ।

मुलुकको भविष्यको चित्र कोर्ने बजेटलाई सुरक्षित, गोप्य र महत्वका साथ हेरिने भएकाले बजेट उल्लेख गरिएको कागजपत्रलाई लेदरको झोलामा सुरक्षित तवरले राखिएको हुन्छ । र, त्यसमाथि रिबन बेरिएको हुन्छ ।

नेपालमा कहिलेदेखि सुरु भयो ?

नेपालमा वि.सं. २००८ सालदेखि औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो । तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले संसद समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । जसमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो ।

नेपालको पहिलो बजेट नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला सरकारले ल्याएको थियो । त्यसअघिका सरकारका बजेट पारिवारिक हुन्थे । जनता लक्षित कार्यक्रम हुँदैनथे । जनतालाई जवाफ पनि दिनुपर्दैनथ्यो ।

२००७ सालमा प्रजातन्त्र आएपछि बजेट संसदसमक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको हो । १ सय ४ वर्षे जहानियाँ राणा शासनको शोषणमा रहेका जनताले यो बजेटले पहिलोपटक आर्थिक स्वतन्त्रताको अधिकारको महशुस गराएको थियो ।


क्लिकमान्डु