पर्सामा वेयर हाउजिङको अन्न भण्डारण सुरु, अन्न धितो राखेर ऋण लिन पाइने



काठमाडौं । किसानले उत्पादन गरेको अन्नलाई सुरक्षित रूपमा भण्डारण गर्ने सेवा पर्सामा सुरु भएको छ । पर्साका बिस्वागुठीमा नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले यो सेवा सुरू गरेको हो ।

कम्पनीका अध्यक्ष आनन्द वगरियाका अनुसार बारा, पर्सासहित सुनसरीको गढी र कपिलवस्तुको वीरपुरमा कम्पनीले अन्न भण्डारण गृह निर्माण गरिसकेको जानकारी दिए । यी तीनवटा भण्डारण गृहको कुल क्षमता ५५ हजार मेट्रिक टन रहेको उनले बताए ।

यसमध्ये सबैभन्दा बढी क्षमताको भण्डारण गृह पर्सामा निर्माण गरी सञ्चालनमा ल्याएको उनले जानकारी दिए । यसको क्षमता २५ हजार मेट्रिक टन छ भने सुनसरी र कपिलवस्तुको १५/१५ हजार मेट्रिक टन क्षमताका छन् ।

कम्पनीका महाप्रबन्धक समिरराज सत्यालका अनुसार यस्ता भण्डारण गृहमा मकै र भटमाससहित सबै प्रकारका अन्न भण्डारण गर्न सकिन्छ । वेयरहाउसमा भण्डारण गरिएको अन्न धितोमा राखेर कर्जा पनि लिन सकिने व्यवस्था गरिएको छ ।

भण्डारणस्थलको अभावमा किसानले व्यापारीले तोक्ने सस्तो मूल्यमा आफ्ना उत्पादन बिक्री गर्न बाध्य भएका थिए भने कुहिने तरकारी र फलफूल पशुवस्तुलाई खुवाउन बाध्य छन् ।

वेयरहाउसमा सुरक्षित रुपमा भण्डारण गरिएको अन्न राम्रो मूल्य पाएको बेला बिक्री गर्न सकिने सत्यालले जानकारी दिए ।
कम्पनीका लगानीकर्ता तथा निम्बस होल्डिङका अध्यक्ष जगदीशप्रसाद अग्रवालले खाद्य सुरक्षामा विश्वको ध्यान केन्द्रित भइरहेको अवस्थामा भण्डारण गृहको सान्दर्भिकता अझ बढेर गएको बताए ।

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड किसानको अन्न भण्डारण, कृषि बजारीकरण र व्यापारिक तथा औद्योगिक प्रयोजनका लागि खाद्यान्नको गोदामसम्बन्धी आवश्यकता पूर्ति गर्न कम्पनी ऐन २०६३ अन्तर्गत २०७५ सालमा स्थापना भएको थियो ।

सर्वसाधारणको २० प्रतिशत स्वामित्व रहेको यो कम्पनीले सुनसरीको गढी पर्साको वियागुठी र कपिलवस्तुको बीरपुरमा अन्न भण्डारण गृह सञ्चालन गर्ने योजना रहेकोमा हाल सुनसरी र पर्सामा सेवा विस्तार गरिसकेको छ भने निकट समयमै कपिलवस्तुमा पनि सञ्चालन हुन लागेको छ ।


क्लिकमान्डु