कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न अदालतको अनुमति



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरीले अनुमति दिएको छ ।

जिल्ला अदालत धनुषाले सिरोहियालाई नागरिकता प्रकरणमा नियन्त्रणमा लिन अनुमति दिएको हो ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो । सिरोहियाले दुईवटा फरक नम्बरको नागरिकता प्रयोग गर्ने गरेको उजुरकर्ताले दाबी गरेका छन् ।

वैशाख १७मा धनुषा प्रहरीमा उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भनेर जाहेरी परेको थियो ।

सिरोहियाले धनुषाबाट नागरिकता निकालेको तर, उनले विभिन्न स्थानमा प्रयोग गरेको नागरिकता नम्बर फरक-फरक रहेको र उनको नागरिकतामा उल्लेख नम्बरमा जिल्ला प्रशासन कार्यालय धनुषाबाट अर्कै व्यक्तिको नाममा समेत नागरिकता जारी भएको जाहेरीमा दाबी गरिएको छ ।

उक्त जाहेरी परेपछि सिरोहियाले विज्ञप्ति जारी गर्दै आफूले २०३४ सालमा नागरिकता र २०५७ सालमा त्यसको प्रतिलिपि लिएको, तर दुइटा नागरिकता नलिएको दाबी गरेका थिए ।

‘नागरिकताका विषयमा उजुरी परेको भन्ने चर्चाप्रति मेरो ध्यानाकर्षण भएको छ। मैले २०३४ मा नागरिकता लिएकामा नेपाली कागजको प्रति पुरानो भएकाले २०५७ मा प्रतिलिपि लिएको हुँ। जसमा ‘२०३३/३४ को प्रतिलिपिअनुसार’ भनेर स्पष्ट उल्लेख छ। नम्बर पनि उही छ, मैले अरू नागरिकता लिएको छैन,’ उनले आफनो विज्ञप्तीमा उल्लेख गरेका छन् ।

आफूभन्दा पछि कसैले लिएको नागरिकताको नम्बर आफ्नोसँग मेल खाएको कुरा आफ्नो जिम्मेवारी नहुने पनि उनले जनाएका थिए ।

‘२०३४ मा मैले नागरिकता लिएपछि २०३६ मा अरू कसैका नाममा त्यही नम्बर लेखिएको छ भने मेरो जिम्मेवारीको विषय होइन,’ उनको विज्ञप्तिमा उल्लेख छ।

हिमालयन इन्सुरेन्सको प्रबन्धपत्रमा उल्लेखित नम्बर भने टाइप गर्दा गलत भएको कुरा कम्पनीले नै जानकारी दिएको भन्दै विज्ञप्तिमा उल्लेख छ, ‘प्रबन्धपत्रसहित कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाइएको फाइलमा मेरो नागरिकताको प्रतिलिपि नत्थी भएकाले सत्यतथ्य आफैँ स्थापित हुन्छ ।’

सिरोहियाले आफूलाई प्रहरीले पक्राउ गर्न सक्ने आशंकामा सर्वोच्चमा पक्राउ पुर्जी जारी गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले उनको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि प्रशासनलाई पक्राउ पुर्जी जारी गर्दै नियन्त्रणमा लिने बाटो खुलेको थियो । सर्वोच्चले उनको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

मंगलबार जिल्ला अदालत धनुषाको अनुमतिसँगै सिरोहिया पक्राउ पर्ने निश्चित भएको छ ।


क्लिकमान्डु