उत्तर कोरियालीलाई अमेरिकी बनाएर जागिर दिएको आरोपमा एक महिला पक्राउ



अमेरिकी नागरिकहरुको डेटा चोरेर उत्तर कोरियालीहरुलाई जागिर दिँदै उत्तर कोरियामा पैसा पठाएको आरोपमा अमेरिकी एक महिला पक्राउ ।

man sitting near the globe with Laptop

एजेन्सी । उत्तर कोरियाली नागरिकहरुलाई अमेरिकामा जागिर उपलब्ध गराएर उनीहरुको ज्याला उत्तर कोरिया पठाएको भन्दै एक अमेरिकी महिलामाथि मुद्दा दायर भएको छ । क्रिस्टिना च्यापम्यान नामकी महिलाले अरु तीन उत्तर कोरियालीहरुसँग मिलेर यस्तो षड्यन्त्र गरेको आरोप छ ।

एरिजोनाकी बासिन्दा क्रिस्टिनाले अमेरिकी नागरिकहरुको पहिचान चोरी गरेको र उनीहरुलाई अमेरिकी नागरिककै रुपमा अमेरिकी आईटी कम्पनीहरुमा रोजगारी प्राप्त गर्न प्रयोग गरेको अभियोजकहरुले दाबी गरेका छन् । क्रिस्टिनाले अमेरिकामाथि धोका दिएको भन्दै उनीमाथि विभिन्न ९ आरोप लागेको छ ।

अनुसन्धानकर्मीहरुका अनुसार क्रिस्टिनाले यस्तो षड्यन्त्रबाट ६० जना अमेरिकीको पहिचान चोरेको र ७ मिलियन अमेरिकी डलर संकलन गरी उत्तर कोरिया पठाएको बताएका छन् । साथै उक्त रकम उत्तर कोरियाको हतियार योजनाका लागि खर्च गरेको हुनसक्ने पनि आशंका गरिएको छ ।

यस्तै २०२० देखि सुरु भएको उक्त योजनामा ३०० अमेरिकी कम्पनी प्रयोग भएको बताइएको छ । तर ती कामदारहरु आईटी कामदारको रुपमा दक्ष भएको पनि अनुसन्धानमा खुलेको बताइएको छ ।

४९ वर्षीया क्रिस्टिनाले आफ्नै घरमा ल्यापटप फर्म चलाएकी थिइन् । र त्यहाँ अन्य कम्पनीले इस्यु गरेका ल्यापटपहरु लग इन गरेर ती उत्तर कोरियालीहरु अमेरिकामै रहेको देखाउँथिइन् । अनुसन्धान अनुसार टाढा रहेका ती आईटी कामदारहरुलाई ल्यापटप कम्पनीहरुसँग जोड्ने काम गर्थिन् र कम्पनीहरुबाट उनीहरुलाई पारिश्रमिकको व्यवस्था मिलाउँथिन् ।

क्रिस्टिनाले यस्तो अपराधबाट उत्तर कोरियाली सरकारलाई लाभ दिँदै उत्तर कोरियाको राजश्वको स्रोत सिर्जना गरिदिएको पनि अभियोजकहरुको दाबी छ । क्रिस्टिनासँगै उत्तर कोरियाली नागरिकहरु जिहो हान, चुन्जी जिन र हाओरान छु संलग्न रहेको आरोप छ । यही आरोपमा क्रिस्टिना गत बिहीबार पक्राउ परेकी छन् ।


क्लिकमान्डु