अफगानिस्तानमा बाढीले ५० को मृत्यु, २ हजार घर भत्किए



एजेन्सी । अफगानिस्तानको घोर प्रान्तस्थित भारी वर्षासँगै आएको बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । अरु केही मानिस हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घोर प्रान्तका अधिकारीहरुका अनुसार बाढीले २ हजार जति घरहरु ध्वस्त भएका छन् भने हजारौं पशुचौपाय मरेका छन् ।

यही साताको सुरुदेखि नै अफगानिस्तानको मध्य र उत्तरी क्षेत्रमा निरन्तर वर्षा भएपछि विभिन्न स्थानमा बाढीले जनजीवन प्रभावित पारेको हो । सरकारी अधिकारीहरुका अनुसार प्रान्तीय राजधानी फिरोजकोस्थित २ हजार जति पसलहरु पानीले डुबेका छन् । साथै अधिकांश सडकहरु भत्किनुका साथै डुबानका कारण सवारी साधन ओहोरदोहोर गर्न कठिन बनिरहेको छ ।

दर्जनौं मानिसहरु बाढीले बगाएर बेपत्ता भएको पनि बताइएको छ । यसका साथै सरकारी निकायहरुले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीब्र बनाएका छन् । साथै घोर प्रान्तस्थित प्रकोप व्यवस्थापन विभागले ‘आपतकालीन अवस्था’ घोषणा गर्दै पानी र खाद्यान्नका लागि आग्रह गरेको छ ।

गत साता पनि उत्तरी क्षेत्रमा ठूलो वर्षा र बाढीका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको थियो । जलवायु विज्ञहरुले भने अफगानिस्तानमा जलवायु परिवर्तनको असर देखिएको औंल्याएका छन् । साथै २०२१ मा तालिबानले अफगानिस्तानको सत्ता नेतृत्व गर्न थालेयता जलवायु परिवर्तनका क्षति न्यूनीकरणका उपायबारे ध्यान नदिएको पनि विज्ञहरुले टिप्पणी गरेका छन् ।


क्लिकमान्डु