नलगाड हाइड्रोपावरको सीईओमा प्रकाश शाही छनोट, कम्पनीले बनाउँदैछ ४१७ मेगावाटको आयोजना



काठमाडौं ।  नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश बहादुर शाही छनोट भएका छन् ।

कम्पनीको सीईओ छनोट गर्न गठित उपसमितिले जाजरकोटका शाहीलाई सिफारिस गरेको हो । शाहीलाई १५ दिनभित्र कम्पनीको कार्यालयमा नियुक्तिका लागि सम्पर्क राख्न आग्रह गरिएको छ । कम्पनीले सीईओ नियुक्तिका लागि निकालेको विज्ञापनमा आवेदन दिएकामध्येबाट उनलाई छानिएको हो ।

यो कम्पनीले जाजरकोटको नलगाडमा ४१७ मेगावाट जडित क्षमताको आयोजना निर्माण गर्न लागेको छ ।आयोजना नलगाड नगरपालिका-२, ५, ७ र ८ तथा बोरेकोट गाउँपालिका-१,२,५,६,७,८ र ९मा निर्माण हुनेछ । विस्तृत अध्ययन पूरा भएको आयोजनाका लागि सरकारले लगानी खोजिरहेको छ । लगानी जुटाउन नसक्दा आयोजना निर्माण अघि बढेको छैन ।

यो जलाशययुक्त प्रकृतिको जलविद्युत् आयोजना हो । यो आयोजनाले वार्षिक ३६५५ गिगावाट आवर विद्युतीय ऊर्जा उत्पादन  गर्न सक्छ । सुक्खायाममा ६०४.९ गिगावाट आवर उत्पादन गर्न सक्छ ।            

यो आयोजनाको विस्तृत अध्ययन ७ वर्ष लागेर स्मेक र एमडब्लुएच र नेपाली कम्पनी उदय कन्सल्ट्यान्टले अध्ययन पूरा गरेको हो । आयोजना निर्माण गर्न करिब २ खर्ब रुपैयाँ लाग्ने अनुमान छ । 


क्लिकमान्डु