३३ दलीय मोर्चा माओवादीको हसिँया हथौडा चिन्हमा चुनाब लड्ने



काठमाडौं । साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न हँसिया हथौडामा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच निर्वाचनमा तालमेल र पार्टी एकताको निर्णयगरेपछि मोर्चाका तर्फबाट आज सो निर्णय आएको हो ।

मोर्चाका तर्फबाट संयोजक युवराज सफलले अग्रगामी शक्तिका रुपमा वाम मोर्चा गठन गर्ने दुई ठूला पार्टीको निर्णयको स्वागत गर्दै माओवादी केन्द्रको निर्वाचन चिह्नमा निर्वाचनमा सहभागी हुने र चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिए ।

उनले सम्पूर्ण देशभक्त र वामपन्थी शक्तिलाई बृहद् वाम एकताको पक्षमा उभिनसमेत आह्वान गरेका छन् । यस्तै संसद्मा क्रियाशील समाजवादी जनता दल र जनजागरण पार्टी नेपालले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् ।

प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता दल र लोकमणि ढकालको जनजागरण पार्टीको संसद्मा एक/एक सदस्य छन् ।

उता नेकपा संयुक्तले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । संयुक्तको बुधबारको बैठकले सो निर्णय गरेको नेता पदमराज जोशीले जानकारी दिए ।

संयुक्तले पनि बृहद् वाम एकतालाई सकारात्मक रुपमा लिँदै एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।


पुष्प दुलाल