दिल्लीका मुख्यमन्त्री केजरीवाल जमानतमा रिहा



एजेन्सी । भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा गरेको छ । मदिरा भ्रष्टाचार प्रकरणमा पक्राउ परेका केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले जुन १ सम्मका लागि रिहा गर्न आदेश दिएको हो ।

राजधानी दिल्लीका मुख्यमन्त्री तथा निर्वाचनमा मोदीको सामना गर्नका लागि गठित विपक्षी गठबन्धनका नेता केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचारको अनुसन्धानको सिलसिलामा मार्चमा हिरासतमा लिइएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपांकर दत्ताको इजलासले केजरीवाललाई शुक्रबार रिहा गर्ने आदेश दिएको हो । यस्तै अदालतले केजरीवालले जुन १ सम्म लोकसभा चुनावको प्रचार-प्रसार गर्न सक्ने पनि जनाएको छ ।

केजरीवालको पक्राउलाई लिएर अधिकांश विश्लेशक तथा नेताहरुले प्रधानमन्त्री मोदीले पूर्वाग्रह साँधेको टिप्पणी गर्दै आएका छन् । बारम्बार गलत कामलाई अस्वीकार गर्दै आएका केजरीवालको समर्थनमा उनको गिरफ्तारीपछि भारतका ठूला सहरमा जुलुस निकालिएको थियो ।

विपक्षी कांग्रेस पार्टीका प्रमुख सदस्य राहुल गान्धीलाई गत वर्ष मोदीको पार्टीका एक सदस्यको उजुरीपछि आपराधिक मानहानीमा दोषी ठहराइएको थियो । उक्त फैसलालाई उच्च अदालतले निलम्बन नगरेसम्म उनको दुई वर्षको कारागार सजायले उनलाई केही समयका लागि संसदबाट अयोग्य घोषित गरिएको थियो ।


क्लिकमान्डु