विमानस्थलको बिग्रिएको एक्सरे मेसिन बनेन, यात्रुहरु घन्टौंसम्म लाइन बस्न बाध्य
मोरङ । विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएकोले नबन्दासम्म यात्रुलाई समस्या हुने भएको छ ।
विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएर बन्द भएको दुई महिना बिते पनि सुचारु नहुँदा सर्वसाधारण मारमा परेका हुन् ।
गत साउनको अन्तिम साता आएको बाढीले बगाएर ल्याएको लेदो विमानस्थलका दुईवटै एक्स–रे मेसिनमा पसेर बिग्रिएपछि अहिलेसम्म सञ्चालन हुन नसक्दा सर्वसाधारण यात्रु मारमा परेका हुन् ।
यात्रुले ल्याएका सामान चेक–जाँच गर्ने होल्ड ब्यागेज एक्स–रे मेसिन र यात्रुले आफूसँग बोकी ल्याएको ब्याग चेक–जाँच गर्ने हेन्ड ब्यागेज एक्स–रे मेसिन बिग्रिएको छ ।
मेसिन बिग्रिएपछि यात्रुले चेक–जाँच गराउन घन्टौंसम्म लाइन बस्नुपर्दा सास्ती बढेको यात्रु डा. निर्मल बरालले गुनासो गरे । एक्स–रे मेसिन चालु अवस्थामा हुँदा पाँच मिनेटमै चेकजाँच सकिने भए पनि अहिले विमानस्थलका सुरक्षाकर्मीले सबै ब्याग, सुटकेस र झोलाका सबै सामान एक÷एक गरी चेक गर्नुपर्ने भएकाले तथा शरीरसमेत छामेर चेक गर्नु परेकाले यात्रुलाई धेरै समय कुर्नुपर्ने बाध्यता छ ।
विराटनगरबाट काठमाडौं जान लागेका डा. रमेश बस्नेतले विमानस्थलमा निकै झन्झट व्यहोर्नु परेको बताए । ‘एक्स–रे मेसिन हुँदा छिटो चेकजाँच भएर गन्तव्यमा पुग्न सहज हुन्थ्यो । तर, अहिले घन्टौंसम्म लाइन लाग्नु परेको छ ।’उनले भने ।
विराटनगर नागरिक उड्डयन कार्यालयका प्रमुख सुरेसमान सिंहले एक्स–रे मेसिन बिग्रिएकाले यात्रुलाई केही असुविधा भएको स्वीकार गरे ।
प्रमुख सिंहले कार्ड बिग्रिएपछि नबन्ने हुनाले नयाँ खरिद गर्नुपर्ने हुँदा कार्यालयले पहल गरिरहेको बताए ।