नेपालगंजको आईसीपी नेपाललाई हस्तान्तरण



काठमाडौं । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकी (आईसीपी) नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

निमार्ण कार्य सम्पन्न भएको उक्त आईसीपी भारत सरकारले संघीय आयोजना कार्यान्वयन इकाईलाई आइतबार हस्तान्तरण गरेको थियो । ईकाईले उक्त आईसीपी नेपाल इन्टरमोडल यातायात विकास समितिलाई हस्तान्तरण गरेको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार हस्तान्तरण भएको उक्त आईसीपी बैशाख २५ गतेदेखि सञ्चालनमा आउनेछ । आईसीपी सञ्चालनको जिम्मेवारी यसअघि नै टिआरएस एटलस लोजिपार्क प्राइभेट लिमिटेडले पाइसकेका छन् ।

ग्लोबल टेण्डरमार्फत टिआरएस एटलसले पाँच बर्षको लागि २० करोड ८८ लाख रुपैयाँमा यो ठेक्का हात पारेका थिए । भारतले २०७७ असोज २६ गते उक्त आईसीपीको निर्माण सुरु गरेको थियो । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०८० जेठ १८ गते उक्त आईसीपीको संयुक्त रुपमा उदघाट्न गरेका थिए ।

नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले यो आईसीपी निर्माण गरिएको हो ।

‘तीन बर्षअघि म समितिमा आउँदा समिति अन्तर्गत ६ वटा पोर्टहरु सञ्चालनमा थिए, जसमध्ये ४ वटा निजी क्षेत्र र २ वटा समिति आफैंले सञ्चालन तथा व्यवस्थापन गर्दैआएको थियो,’गजुरेलले भने,‘ आजसम्म आइपुग्दा हामीसंग ८ वटा पोर्ट छन र सबै प्रतिस्पर्धात्मक प्रणालीबाट छनौट भएका निजी क्षेत्रका कम्पनीमार्फत सञ्चालन भइरहेका छन ।’


क्लिकमान्डु