बालेनले सडक बत्तीको पैसा नतिरेपछि लाइन काट्ने तयारीमा कुलमान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महानगरपालिका सहित देशभरका स्थानीय तहहरुले सडक बत्ती प्रयोग गरेर महसुल नतिरेपछि लाइन काटिदिने भएको छ ।

प्राधिकरणले सडक बत्तीको व्यवस्थित उपयोग गर्ने र सोको महसुल भुक्तानी गर्न चैत १६ गते सार्वजनिक सूचना निकालेको थियो । केहि स्थानीयले भुक्तानी गरेको भएपनि धेरैले तिरेका छैनन् । महसुल नतिर्ने स्थानीय निकायको सडक बत्ती  जुनसुकै बखत काटिने प्राधिकरणले चेतावनी दिएको छ ।

प्राधिकरणका अनुसार देशभरका स्थानीय तहहरुले करिब ६ अर्ब रुपैयाँको सडक बत्ती प्रयोग गरेर महसुल तिरेका छैनन ।

तस्बिर: नेपाल विद्युत प्राधिकरण

काठमाडौं महानगरपालिकाले समेत करिब १ अर्ब ६० करोड रुपैयाँ महसुल तिरेको छैन । प्राधिकरणले महानगरपालिका पटक पटक ताकेता गरेपनि नतिरेको प्राधिकरणले जनाएको छ ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन) लाई समेत यसबारे जानकारी छ । महसुल तिर्न नमानेको भन्दै प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले लाइन काटिदिन लागेका छन् ।

धरानका चर्चित मेयर हर्क साम्पाङले समेत सडक बत्तीको महसुल तिरेका छैनन । स्थानीय तह र प्राधिकरणबीच सडक बत्ती बक्यौता महसुल भुक्तानीमा विवाद छ ।


क्लिकमान्डु