बालेनले १ अर्ब खाएको आरोप लगाउने महानगरका कर्मचारीविरुद्ध मुद्दा दायर



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाएका महानगरका एक कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ ।

बालेनमाथि १ अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेलविरुद्ध मुद्दा दायर भएको हो ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा (साइबर) मुद्दा दायर हुनेमा ताप्लेजुङको मौवाखोला गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत पौडेल छन् ।

पौडेलले सामाजिकसञ्जाल फेसबुकमा मेयर शाहले सयौँ कर्मचारी करारमा नियुक्त गरेको र एक अर्ब रुपैयाँ खाएको भन्दै लेखेका थिए । पौडेलले फेसबुकमा ‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र उनीहरूले २ वर्षसम्म खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरवासीले तिरेको कर हो’ लेखेका थिए।

मेयर शाहमाथि झुटा आरोप लगाएर अपमान गरेको भन्दै सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

मेयर शाहविरुद्ध लेखेपछि उनी पुस १६ गते निलम्बनमा परेका थिए । पौडेल २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा काम गर्दै आएका थिए ।


क्लिकमान्डु