बालेनको सचिवालय र सल्लाहकारमा २६ जना, मासिक तलब, पेट्रोल साथै प्रतिराय १५०० नगद



काठमाडौं । दुई साताअघि काठमाडौं महानगरपालिकाकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले मेयर बालेन्द्र शाहमाथि आरोप लगाउँदै भनिन्, ‘कानुनमा काम गर्न मोटो रकम दिएर आफ्ना नजिकका वकिलसा’बको जम्बो टोली मेयरले करारमा नियुक्ति गर्नु भएको छ । जसको प्रशासनिक खर्च वार्षिक लाखौं हुन्छ ।’

महानगरले बिदामा बस्न भनेको र काममा आउँदा काम गर्ने वातावरण नरहेको बताउँदै उनले मेयर शाहबाटै पनि असहयोग भएको आक्षेप लगाएकी थिइन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह गत वर्ष वैशाखमा निर्वाचित हुनु अघिबाटै उनीसँग प्रत्यक्षरुपमा केही व्यक्तिहरु जोडिएका थिए ।

मेयरले सामाजिक सञ्जालमा लेख्ने विषयदेखि सार्वजनिक स्थानमा प्रस्तुत हुने शैलीसम्ममा उनीसँग जोडिएका व्यक्तिहरुले प्रत्यक्ष संलग्नतामा ‘डिजाइन’ गरिएको हुन्छ भन्ने गरिन्छ । मेयर शाह देशभरकै स्थानीय तहमध्ये राजधानी रहेको महानगर भएका कारणमात्रै नभएर, उनी प्रस्तुत हुने शैलीलगायतले पनि निरन्तर चर्चामा नै छन् ।

चुनावको समयमा परिदृश्यमा रहेर बालेनलाई सहयोग गर्नेहरुमध्ये केही अहिले पनि मेयर शाहको सचिवालयमा छन् । कतिपय नयाँ व्यक्तिहरु पनि उनको सचिवालयमा छन् ।

१२ जना वैतनिक र १४ जना अवैतनिक कर्मचारी तथा सल्लाहकारसहित मेयर शाहको सचिवालयले काम गरिरहेको छ । महानगरपालिकाको नियुक्तिमा यीनै २६ जनाले काम गरिरहेका छन् । अवैतानिकले भने तलब पाउँदैनन् ।

तर, के महानगरकी वरिष्ठ कानुन अधिकृत घिमिरेले लगाएको आरोपजस्तै मेयर शाहको सचिवालय, सल्लाहकारलगायतमा वार्षिक लाखौं खर्च हुने गरि करारमा नियुक्ति दिइएको छ त ?

सचिवालयका ७ कर्मचारी

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुने वित्तिकै शाहले भुपदेव शाहलाई आफ्नो स्वकीय सचिवका रुपमा करारमा नियुक्त गरेका थिए । मेयर शाहको चुनावी अभियानका क्रममा पनि नेपथ्यमा रहेर काम गरिरहेका व्यक्ति हुन् उनी ।

महानगरले उपलब्ध गराएको विवरणका अनुसार मेयर शाहको निजी सचिवालयमा कार्यरत शाह २०७९ जेठ १८ गतेबाट सेवामा छन् । अधिकृत सातौं तहको सेवामा नियुक्त रहेका भुपदेवले २०७९ साउन १ बाट लागू भएको नयाँ तलबमानअनुसार मासिक ४५ हजार ८५१ रुपैयाँको सुरुवाती तलब स्केलअनुसारको सुविधा पाइरहेका छन् ।

शाहलाई नियुक्त गरिएको केही अवघिपछि २०७९ असार ३ गते मेयर शाहको स्वकीय सहायकका रुपमा नबिन भण्डारीलाई नियुक्त गरिएको थियो । पाचौं तहको कर्मचारीका रुपमा रहेका उनले मासिक ३४ हजार ७३० रुपैयाँको तलब सुविधा पाइरहेका छन् ।

त्यस्तै, छैटौं तहमा मेयर शाहको निजी सचिवालयमा फोटोग्राफर पदका लागि नियुक्त भएका विनय शाक्यको मासिक तलब सुविधा ४३ हजार ६८९ रुपैयाँ रहेको छ ।

शाहको सचिवालयमा हलुका सवारी चालक महेश भण्डारी नियुक्त छन् । उनी श्रेणीविहीन कर्मचारी हुन् । सरकारी नियमअनुसार उनको तलब सुविधा २७ हजार ६१२ देखि ३९ हजार ८१३ मध्येमा रहन्छ । उनलाई नियुक्त गरिएको मितिबारे पनि महानगरले कुनै जानकारी उपलब्ध गराएको छैन ।

त्यस्तै, मेयर शाहको सरकारी निवासमा कार्यालय सहयोगीका रुपमा पार्वती ओली र रेणुका गुरुङ कार्यरत रहेका छन् । दुवैलाई क्रमशः गत मंसिर ११ र २० गते करारमा नियुक्त गरिएको हो । कार्यालय सहयोगी पदमा प्रथम स्तरका कर्मचारी रहेका उनीहरुको तलब सुविधा हेर्ने हो भने सरकारी तलबमानअनुसार २४ हजार ७०२ रुपैयाँ रहेको छ ।

अवैतनिक सल्लाहकारमा कुमार बेनदेखि सेफ सन्तोष शाहसम्म

मेयर शाहका अवैतनिक सल्लाहकारका रुपमा भने १४ जनालाई राखिएको छ ।

महानगरले उपलब्ध गराएको विवरणअनुसार विभिन्न समयमा गरिएका प्रमुख स्तरीय निर्णयअनुसार १४ जनालाई अवैतनिक सल्लाहकारका रुपमा नियुक्त गरिएको छ ।

मेयर शाहको सल्लाहकारका रुपमा नियुक्त भएकाहरुमा सबैभन्दा धेरै खाद्य क्षेत्रका रहेका छन् । अनुष्का श्रेष्ठ, जीवन प्रभा लामा र सन्तोष गिरीलाई खाद्य क्षेत्रमा सल्लाहकारका रुपमा राखिएको छ भने सेफ सन्तोष शाह खाद्य दुतका रुपमा रहेका छन्।

त्यस्तै, पूर्वधारको क्षेत्रमा सुनिल लम्साल र जीवन अर्याल सल्लाहकार रहेका छन् । स्वास्थ्यमा डा. विशाल ज्ञवाली र डा. जगदीश प्रसाद अग्रवाल, जलस्रोतमा दीपक ज्ञवाली, सम्पदामा यादवलाल कायस्थ, ट्राफिकमा जगतमान श्रेष्ठ र सचिवालायमा सस्मित पोखरेल सल्लाहकारका रुपमा रहेका छन् ।

मेयर शाहसँग उनले चुनावमा उठ्ने घोषणा गरेदेखि नै प्रत्यक्षरुपमा जोडिएका कुमार व्यञ्जनकार (कुमार बेन) भने व्यवस्थापनमा सल्लाहकारका रुपमा नियुक्त रहेका छन् ।

कानुनी सल्लाहकारको जम्बो टोलीः मासिक तलब ४५ हजार र २० लिटर पेट्रोल, एउटा कामको १५ सय

महानगरकी वरिष्ठ कानुन अधिकृत घिमिरेले मेयर शाहलाई उनको सचिवालयमा कानुनी सल्लाहकारका रुपमा जम्बो टोली बनाएको र वार्षिक लाखौं प्रशासनिक खर्च गर्ने गरेको आरोप लगाएकी थिइन् ।

महानगरले उपलब्ध गराएको विवरणमा पनि त्यस्तै देखिन्छ । शाहले महानगरमा कानुनी सल्लाहकारका रुपमा ५ जनालाई नियुक्त गरेका छन् ।

महानगरमा कानुनी सल्लाहकारका रुपमा ओम प्रकाश अर्याल, दिना श्रेष्ठ, शंकर प्रसाद पुडासैनी, महेश कुमार नेपाल र कुमारी खरेल नियुक्त रहेका छन् ।

यी पाँचै जना कानुनी सल्लाहकारहरुलाई महानगरले मासिक रुपमा ४५ हजार रुपैयाँ तलब सुविधा दिने गरेको छ । त्यस्तै, २० लिटर पेट्रोल पनि महानगरले मासिक रुपमा उपलब्ध गराउँदै आएको छ ।

मासिक तलब सुविधाका साथै यातायातका लागि इन्धन सुविधासमेत दिइएका कानुनी सल्लाहकारहरुले काम गरेमा भने महानगरले थप पारिश्रमिक वा सुविधा दिने गरेको छ । कानुनी सल्लाहकारले एउटा कानुनी राय दिँदा प्रतिकार्य १५ सय रुपैयाँ थप पाउने गरि उनीहरुलाई नियुक्त गरिएको छ ।

उपमेयरको डंगोलको सचिवालयमा ४ कर्मचारी

मेयर शाहले आफूसँग सम्बन्धित कामका लागि २६ जनालाई नियुक्त गरिरहेको अवस्थामा उपप्रमुखको सचिवालयमा भने जम्मा ४ जनामात्रै छन् ।

डंगोलको स्वकीय सचिवका रुपमा विश्व शाक्य रहेका छन्, जसलाई छैटौं तहअनुसारको तलब सुविधा ४३ हजार ६८९ रुपैयाँ उपलब्ध गराइन्छ । त्यस्तै, स्वीकय सहायकका रुपमा चन्धन सिंह धारी नियुक्त छन्, जसलाई मासिक सहायक पाचौं तहअनुसारको ३४ हजार ७३० रुपैयाँ उपलब्ध गराइन्छ ।

उपप्रमुख डंगोलको निवासमा कार्यालय सहयोगीका रुपमा सुनिता महर्जन रहेकी छिन्, जसलाई प्रथमस्तरको तलब सुविधा २४ हजार ७०२ रुपैयाँ उपलब्ध गराइएको छ । त्यस्तै, सवारी चालकका रुपमा डंगोलको सचिवालयमा सुमन श्रेष्ठ नियुक्त रहेका छन् । उनी श्रेणीविहीन हुन् भने उनले २७ हजार ६१२ देखि ३९ हजार ८१३ रुपैयाँसम्म पाउछन् ।


क्लिकमान्डु