बालेनले मानसिक तनाब दिएको महानगरकी वरिष्ठ कानुन अधिकृत सस्मिताको आरोप



काठमाडौं । काठमाडौं महानगरपालिकामा वरिष्ठ कानुन अधिकृतका रुपमा कार्यरत सस्मिता घिमिरेले मेयर बालेन्द्र शाहले मानसिक तनाव दिएको आरोप लगाएकी छिन् ।

सामाजिक सञ्जालमार्फत घिमिरेले मेयर शाहले टर्चर दिएको र बिनाकारण जिम्मेवारीविहीन बनाएको बताएकी हुन् । सँगै उनले आफूले कानुनी र पेशागत लडाइँ सुरु गरेको पनि घोषणा गरेकी छिन् । उनले लेखेकी छिन्, ‘एक राष्ट्र सेवकको नाताले जनताको सेवा गर्न पाउनु मेरो अधिकार हो । विगत लामो समयदेखि मेयर बालेनको प्रशासनमा बिना कारण र आधार किन कार्य जिम्मेवारी बिहिन बनाएको हो ?’

आफूलाई जिम्मेवारीविहीन बनाउनुको कारण बुझ्न जाँदा कार्यालयमा बस्ने कुर्सि टेबल समेत नदिई काम नै गर्न नदिएर राखिएको बताउँदै उनले कानुनी र पेशागत हक अधिकारका लागि बाहिर निस्किन परेको बताएकी छिन् । उनले मेयर शाहले पूर्वाग्रह राखि कार्यालयमा जाँदा बस्ने ठाउँ समेत नदिई स्थायी कर्मचारीलाई काम नै गर्न नदिनु कतिको न्यायोचित हो भन्दै प्रश्न पनि गरेकी छिन् ।

घिमिरेले आफू क्यान्सर सर्भाइभर रहेको र काम गर्न सक्षम भएको भनिरहँदा महानगरबाट अहिले कामै गर्न नदिने भन्ने जानकारी पाएको आरोप लगाएकी छन् । उनले आफूले जिम्मेवारी माग्दा नदिई करारमा जुनियर वकिल राखेर प्रशासनिक खर्च बढाएर काम गरिएको आरोप शाहमाथि लगाएकी छिन् ।


क्लिकमान्डु