आज पनि हिजोको जस्तै दिनभर झरी पर्ला ?, यस्तो हुनेछ ३ दिनको मौसम



पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार देशको मध्यदेखि पूर्वसम्म वर्षा भएको छ भने पश्चिम क्षेत्रमा पनि बदली र छिटपुट वर्षा भएको छ । महाशाखाले शनिबारसम्म वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसमविद् सञ्जिव अधिकारीले आगामी तीन दिनसम्म उल्लेख्य रुपमा मौसममा सुधार हुने नदेखिएको बताए ।

‘बुधबार काठमाडौंमा दिनभर नै वर्षा भएको छ, आगामी तीन दिनसम्म उल्लेख्य रूपमा मौसममा सुधार हुने देखिँदैन तर हिजोको जस्तो झरी हुँदैन । तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ’ उनले भने ।

बिहीबार कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।

राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

कहाँ कति वर्षा ?

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार धनकुटाको पाख्रिबासमा २४ घन्टाको अवधिमा ४७.६ मिलिमिटर पानी परेको थियो । सिन्धुलीको रानीबास क्षेत्रमा पनि सोही अवधिमा ४७ मिलमिटर पानी परेको थियो ।

मधेस प्रदेशमा पनि मध्यम वर्षा भयो। सिराहाको चुरेमाई क्षेत्रमा पछिल्लो २४ घन्टामा ३५.६ मिलिमिटर, सिराहाकै गोलबजार क्षेत्रमा ४४.२ मिलिमिटर र जनकपुर विमानस्थल आसपास ३६.६ मिलिमिटर वर्षा भयो। रौतहटको गरूडामा ३२.६, धनुषाको टुल्सी स्टेसनमा ३० मिलिमिटर वर्षा मापन भएको छ ।

पूर्वतर्फ भने इलामको राकेमा पछिल्लो २४ घन्टामा ४०.२, पाँचथरको फिदिममा २६.२, धनकुटाको लेगुवाघाटमा ३६.८, भोजपुरमा ३३.२, संखुवासभाका खाँदबारीमा २५.६, खोटाङ बजारमा ३७, खोटाङकै ऐँसेलुखर्कमा २०.४ मिलिमिटर वर्षा मापन भएको छ ।

काठमाडौंको त्रिभुवन विमानस्थल क्षेत्रमा पछिल्लो २४ घन्टामा १३ मिलिमिटर पानी परेको छ। काठमाडौंकै धापा बाँध आसपास ११.८, बबरमहल क्षेत्रमा ३.६, कीर्तिपुरमा ११.८, कपन क्षेत्रमा ९.६, बूढानीलकण्ठ क्षेत्रमा ६.८ र सुन्दरीजल क्षेत्रमा २.४ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै नुवाकोट ककनीमा १.८ र धुधादिङनीबेंसीमा १.८ मिलिमिटर पानी परेको छ ।

दक्षिणी ललितपुरको लेले क्षेत्रमा भने २१.६ मिलिमिटर पानी परेको थियो । त्यस्तै, गोदावरी क्षेत्रमा पनि पछिल्लो २४ घन्टामा २०.२ मिलिमिटर पानी परेको विभागले जनाएको छ।


क्लिकमान्डु