उपाध्यक्ष महरा पक्राउबारे माओवादी बैठकमा छलफल, भएन निर्णय



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पार्टी पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ परेको सम्बन्धमा छलफल भएको हो ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष महरा पक्राउ परेको विषयमा पदाधिकारी बैठकमा छलफल भएको र पार्टीले पुनः बैठक बसेर निर्णय गर्ने बताए ।

सुन प्रकरणमा सोमबार भैरहवाबाट उपाध्यक्ष महरालाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई ४ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति समेत दिइसकेको छ ।

‘तपाईहरुले जान्न खोज्नुभएको उपाध्यक्ष कमरेड कृष्णबहादुर महराको बारेमा छ । हाम्रो धेरै राम्रोसँग छलफल भइरहेको छ । यसका हरेक पाटा पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ । छलफल जारी छ । छिटो भन्दा छिटो निस्कर्षमा पुग्छौं’ उनले भने ।


क्लिकमान्डु