पुरानो बानेश्वरमा गोल्यान ग्रुपले बनाइरहेको छ सवा अर्ब लगानीमा कम्प्लेक्स, कहिले होला सञ्चालन ?



काठमाडौं । गोल्यान ग्रुपले पुरानो बानेश्वरमा व्यवसायिक कम्प्लेक्स बनाइरहेको छ । बानेश्वरमा गोल्यान टावर प्रालिले १ अर्ब १६ करोड ९० लाख रुपैयाँ लगानीमा कम्प्लेक्स बनाउँदै गरेको हो ।

कम्पनीले कम्प्लेक्स सन् २०२४ को जनवरीबाट सञ्चालनमा ल्याउने तयारी गरेको थियो । तर, आयोजना भने निर्माण भइरहेको छ ।

कम्पनीले भाडामा दिनका लागि प्रतिठाउँको मूल्य १९ हजार ४७५ रुपैयाँमा भाडा तोकेको छ । साथै, सन् २०२५ देखि १२ प्रतिशत भाडा बढ्ने उल्लेख गरेको छ ।

कम्पनीले फर्निस ठाउँका लागि प्रति स्क्वारफिट २५० रुपैयाँ तोकेको छ भने अनफर्निस्ड ठाउँको भने १५० रुपैयाँ प्रति स्क्वायरफिट तोकेको छ । कम्पनीले पुरानो बानेश्वरमा जग्गा लिजमा लिई कम्प्लेक्स निर्माण गरेको हो ।

कम्पनीले ४६ प्रतिशत भाडामा दिने ठाउँ अन्य कम्पनीलाई लिजमा दिने तयारी गरेको छ ।

कम्पनीअनुसार अर्थतन्त्रमा देखिएको सुस्तताले भाडामा लिन चाहने ग्राहकमा कमी देखिएको छ । तर, आयोजनाको निर्माण खर्च भने अन्मानितभन्दा २१ प्रतिशतले बढिसकेको कम्पनीले जनाएको छ । कम्प्लेक्सको डिजाइन परिवर्तन गर्दा लागत बढ्न गएको रेटिङमा उल्लेख छ ।

शक्तिकुमार गोल्यान अध्यक्ष रहेको कम्पनीमा बासुदेव गोल्यान र कुमुद गोल्यानसहति अन्य धेरैको स्वामित्व छ । कम्पनीले आयोजना निर्माणका लागि ६० करोड रुपैयाँ दीर्घकालीन कर्जाको रेटिङ गराएको छ ।


क्लिकमान्डु