प्रधानमन्त्री बन्नकै लागि गठबन्धन भएको होइन, मलाई प्रधानमन्त्री बन्ने इच्छा छैन: ओली



काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री आलोपालो गर्ने बारे गठबन्धनभित्र कुनै सम्झौता नभएको दाबी गरेका छन् ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रयोजनाका लागि बसेको प्रतिनिधि सभा बैठकका ओलीले मा‌ओवादी लगायतका दलहरुसँगको गठबन्धनमा प्रधानमन्त्रीलाई लिएर कुनै सम्झौता नभएको दाबी गरे । उनले आफूलाई प्रधानमन्त्री बन्ने इच्छासमेत नभएको बताए ।

‘प्रधानमन्त्रीको कार्यकाल बाँडेबाडका चर्चाहरू अखबारमा देखेँ । यस्तो चर्चाले यो सरकार परिवर्तन किन गरेको भन्ने प्रश्नको गरिमा घटाएको छ । यो गलत कुरा हो । बाहिर आएजस्तो १३/१३ वर्ष, वा १५/१५ वर्षको कसैले गरेको छैन,’ उनले भने, ‘ प्रधानमन्त्री हुनकै लागि यो गठबन्धन बनेको होइन । मलाई इच्छा छैन प्रधानमन्त्री बन्ने । मेरो नाम पनि जोडिएको छ क्यार । प्रधानमन्त्री जोसुकै होस । कांग्रेसलाई बसेर कुरा गरौँ न सही रुपमा भनेर भनेको । वर्णाश्रम व्यवस्थामा भात दाल चल्दैन भनेझैँ एमालेसँग कुरा चल्दैन रे कांग्रेसको । शेरबहादुर जीलाई फेरि पनि भन्न चाहन्छु । बसौँ न कुरा गरौँ न ।’


क्लिकमान्डु