१५३ यात्रु लिएर आकाशमा उडिरहेको बेला विमानका दुवै पाइलट निदएपछि….



एजेन्सी । इन्डोनेशियाको स्थानीय वायु सेवा बटिक एयरको एक उडानका क्रममा विमानमा भएका दुवै पाइलट निदाएका छन् । उडानका क्रममा पाइलट निदाएको घटना सार्वजनिक भएपछि त्यसबारे छानबिन थालेको त्यहाँको यातायात मन्त्रालयले जनाएको छ ।

सूलवेसीदेखि राजधानी जकार्तासम्मको उडानका क्रममा एयरबस ए ३२० उडानका दुवै चालकहरु झन्डै २८ मिनेटसम्म निदाउँदा विमान छोटो समयका लागि आफ्नो बाटोबाट बाहिर गएको बीबीसीले जनाएको छ ।

यद्यपि उक्त विमानले सुरक्षित अवतरण गरेको थियो । विमानमा सवार १५३ यात्रु र चालकदलका सदस्य कसैलाई कुनै चोट पनि लागेन । गत २५ जनावरीको उक्त घटनापछि दुवै पाइलटलाई निलम्बन गरिएको छ।

उक्त उडान सुरु भएपछि ३२ वर्षे लीडपाइलटले कोपाइलटलाई आफूलाई आरामको आवश्यकता रहेको भन्दै विमानको हेरविचार गर्न भनेको बताइएको छ । त्यसमा २८ वर्षे कोपाइलटले सहमति जनाएका थिए । तर सहमति जनाएको केहीबेरमा कोपाइलट पनि निदाएका थिए ।

यातायात मन्त्रालयको प्रतिवेदनअनुसार उनकी श्रीमतीले जुम्ल्याहा बच्चा जन्माएको एक महिना मात्र भएको थियो र उनी पनि बच्चाको रेखदेखमा संलग्न थिए ।

जकार्तामा रहेको एअर ट्राफिक कन्ट्रोल कार्यालयले उक्त विमानको ककपिटमा सम्पर्क गर्दा कुनै जबाफ नभएपछि घटनाबारे पहिलो पटक थाहा भएको थियो ।

ट्राफिक कन्ट्रोलको सम्पर्कमा रहेको रेडिओ उपकरण २८ मिनेटसम्म मौन रहेको बताइएको छ ।

त्यसपछि लीडपाइलट बिउँझिदा उनले आफ्ना कोपाइलट निदाएको र विमान केही समयका लागि निर्धारित मार्गभन्दा बाहिर गएको पत्ता लगाएका थिए ।

त्यसपछि भने उनी जकार्ता ट्राफिक कन्ट्रोलको सम्पर्कमा आएकाले विमानको सुरक्षित अवतरण गराउन सफल भएको समाचारमा जनाइएको छ ।

उडानभन्दा अघिको स्वास्थ्यपरीक्षणमा दुवै पाइलट उडानका लागि योग्य रहेको पाइएको थियो ।

घटनापछि सरकारी अधिकारीहरूले बटिक एअरलाई चेतावनी दिएका छन् । इन्डोनेशियाका हवाई यातायात प्रमुख एम क्रिस्टी एन्डा मुर्नीले कम्पनीले चालकदलको विश्रामबारे थप ध्यान दिनुपर्ने बताएकी छन् ।

बटिक एअरले भने आफू “पर्याप्त आरामको नीतिअनुसार नै सञ्चालनमा रहेको” र “सुरक्षासम्बन्धी सबै सिफारिस कार्यान्वयनका लागि प्रतिबद्ध रहेको” बताएको छ।

सन् २०१९ मा यसै कम्पनीको एक विमानका चालक बेहोस भएपछि विमानको आकस्मिक अवतरण गराइएको थियो ।


क्लिकमान्डु