बुवा सुवासले जितेको इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार बन्न सुहाङ नेम्वाङले दिए निवेदन



इलाम । इलाम क्षेत्र नम्बर २ मा रिक्त प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारीका लागि सुहाङ नेम्वाङले निवेदन दिएका छन् । नेकपा (एमाले) इलामले गठन गरेको उपनिर्वाचनको लागि कार्यदलमा सुहाङले निवेदन दिएका हुन् ।

नेकपा एमाले इलामले उपनिर्वाचनको लागि गठन गरेको कार्यदलमा सुहाङले निवेदन दिएका हुन् । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् ।

एमालेका तत्कालीन उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि खाली इलाम निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो ।

एमाले जिल्ला कमिटीले उम्मेदवार चयनका लागि आवश्यक अध्ययन गर्न उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको थियो । उपनिर्वाचनको मिति तोकिएसँगै सुहाङ पनि उम्मेदवार बन्ने चर्चा चलिरहेको थियो ।

चर्चाका बीच उनले कार्यदलमा निवेदन दिएका हुन् । पेशाले अधिवक्ता सुहाङले पछिल्लो समय इलाममा गतिविधि बढाएका छन् ।


क्लिकमान्डु