बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री उपस्थित हुनु पर्दथ्योः वेदुराम भुसाल



काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष डा. वेदुराम भुसालले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पुनर्लेखन नगर्न नयाँ सत्तारुढ गठबन्धनलाई आग्रह गरेका छन्।

तत्कालीन अर्थमन्त्री डा. प्रकाशरण महतले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन नगर्दा उपयुक्त हुने उनको भनाइ थियो ।

आइतबार राष्ट्रिय सभा बैठकमा सो विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै उपाध्यक्ष भुसालले अर्थमन्त्री वर्षमान पुनले उपस्थिति नभएकोमा असन्तुष्टि समेत व्यक्त गरे । उपाध्यक्ष भुसालले विनियोजन विधेयकमाथिको छलफल अर्थमन्त्रीकै उपस्थितिमा हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको पनि बताए ।

‘सबभन्दा पहिला म यो बजेटको सिद्धान्त र प्राथमिकता नरोक्न राम्रो हुन्छ भन्ने कुरा राख्न चाहन्छु । अझै पनि आर्थिक संकटबाट मुक्त छैन भन्ने स्वीकारोक्तिसहित यो बजेटको सिद्धान्त र प्राथमिकता आएको छ । यसको कार्यान्वयन कसरी हुने हो,’ भुसालले भने,’अर्थतन्त्रमा जुनखालको संकट छ । त्यो संकटको समाधान गर्नेगरी अवको बजेट आउँछ कि आउँदैन ? मुख्य विषय त्यो हो । यहाँ जुन खालको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएका छन् । यही आधारमा बन्ने बजेटले मुख्य त हाम्रो अर्थतन्त्रको संकटलाई समाधान गर्नसक्छ कि सक्दैन ? मुलुकमा उत्पादन वृद्धि गर्नसक्छ कि सक्दैन, रोजगारी सृजना गर्न सक्छ कि सक्दैन ? यी तीन वटा कुरामा ध्यान दिएर बजेट आएन भने हामी फेरी पनि कुरा त गर्न सक्छौ तर काम गर्न सक्दैनौं भन्ने मलाइ लाग्छ । अव अहिले त यहाँ मन्त्रीजी नै देखिनुभएको छैन । मैले रोष्टमबाट भनौ कि नभनौं । अर्थमन्त्रीजी हुनुपथ्र्यों यहाँ । हाम्रो यो चाँही अर्थमन्त्रीजीकै उपस्थितिमा छलफल गर्नुपर्छ धारणा पनि हो । उहाँ आउनुभएको छैन । यो सन्देश पुगोस, मन्त्रालयका प्रतिनिधिहरु बस्नुभएको होला । मुलुकको आर्थिक संकटलाई समाधान गर्ने, उत्पादन वृद्धि गर्ने र रोजगारी सृजना गर्नेगरी बजेट ल्याईयोस् ।’


क्लिकमान्डु