रिटायर्ड हबल्दारको २० बर्ष पुरानो चिया पसल, जसले पाल्छ १८ जनाको परिवार
काठमाडौं । पशुपति क्षेत्रमा बिहानै अभ्यास गर्नेहरुको घुइचो लाग्ने गर्छ । त्यसैसँग पशुपति गुरुमार्गको उकालोमा रहेको सानो छाप्रोमा अर्को घुइचो देख्न सकिन्छ । त्यो कुनै अभ्यासको घुइचो हैन, नत जडिबुटीको जुस खान बसेका मानिसहरुको घुइचो हो । यो त चिया खाने मानिसहरुको घुइचो हो ।
चक्रबहादुर तामाङ । यो कुनै चर्चित हस्तीको नाम होइन । यो नाम सबै बिहान घुइचो लाग्ने त्यही चिया पसलका मालिकको हो । चिया पसल गरेर बसेको करिब २० वर्ष पुगेको बताउने उनी आफ्नो ब्यवसायबाट अत्यन्तै सन्तुष्ट छन् ।
उनले त्यही चिया पसलको आम्दानीबाट आफ्ना ५ छोरी र २ छोरालाई राम्रो शिक्षादिक्षा दिएका छन् । उनी बिहान मात्रै ५० देखि ६० कपसम्म चिया बेचिसक्छन् । उनको पसल पसलमा चिया मात्रै पाइन्छ । र, दिउसो पसल बन्द नै हुन्छ ।
नेपालमै ब्यवसाय गर्न सके राम्रो कमाइ गर्न सकिने बताउने ७० बर्षीय तामाङ चिया बेचेर नै मासिक ३० हजार रुपैयाँभन्दा बढी कमाइ हुने बताउँछन् । उनको पसलमा कहिलेकाँही यति धेरै ग्राहक एकैचोटी आउँछन् कि बस्ने ठाउँसम्म हुदैन रे । आफूले सानैदेखि दुःख भोगेकोले अहिले सुखका दिन आएको उनको बुझाइ रहेछ ।
सिन्धुपाल्चोक स्याउले पुख्यौली घर भएका उनले आफ्नी स्वर्गीय श्रीमती सुकमाया लामाकै सहयोगमा २०५५ सालदेखि यही चिया ब्यापार गरेर नै आफ्नो घर खर्च धान्दै आएका छन् । आफ्नी श्रीमतीलाई देवी समान मान्ने उनी आफ्नै श्रीमतीको सहयोगले ४ आना जग्गामा घर बनाउन सफल भएको बताउछन् ।
श्रीमतीको निधन पछि पसलमा खासै नबस्ने गरेका उनको पसललाई उनकी साइली छोरीले सम्हाल्दै आएकी छन् । उनलाई श्रीमतीले छोडेर गएको ३ बर्ष भइसकेको छ ।
५ बहिनी छोरी र ३ भाइ छोराको पढाइ पूरा गर्न पनि यही चिया पसलको ब्यापारले ठूलो टेवा पुराएको उनको भनाइ छ । जेठो छोराको निधन पछि आफ्नो एक्लो नातिबाट जेठो छोराको कमी पुरा भएको बताउने उनका ७ जना नातिनी छन् ।
उनले ३ छोरीको बिहेबारी गरिदिइसकेका छन् । विबाहित छोरीहरु पनि आफ्नो परिवारसँग बाबु चक्रबहादुरसँग एउटै घरमा बस्छन् । र, १८ जनाको ठूलो परिवारलाई त्यही एउटा चिया पसलको आम्दानीले पुगेको छ ।
चिया ब्यापार गरेरै आफ्नो छोरा, छोरी, नाती, नातिनीहरुको खर्च धान्दै आएका उनी आफूले पढ्न नपाए पनि सन्तानलाई शिक्षा दिन पाएकोमा निकै खुशी छन् ।
हरेक बिहान २ बजे उठेर स्नान गरि आफ्नो पसल वरीपरी सरसफाइ गर्ने गरेका तामाङ पसलमा ग्राहकको स्वागतमा सधै तत्पर रहने गर्छन् ।
१६/१७ वर्षको उमेरमै घर छाडेर चितवन पसेका उनले २०२३ सालमा नेपाल प्रहरीमा जागिर खाएका थिए । उनी नेपाल प्रहरीको अबकासप्राप्त हवल्दार पनि हुन् ।
प्रहरीबाट अबकाश पाएपछि फेरि जागिर खाने रहर भने नगरेका होइनन् । उनले २०४७ सालदेखि नेपाल टेलिभिजनमा सुरक्षा गार्डको काम पनि गरेका रहेछन् । र, यो जागिर २०६३ सालमा छोडेको उनी बताउँछन् । उनले नेपाल टेलिभिजनमा जागिर खाँदै गर्दा उनकी श्रीमतीले २०५५ सालदेखि त्यहाँ चिया पसल सुरु गरेकी थिइन ।
अहिले उनी सन्तुष्ट भएको बताउँछन् ।
‘अरु त त्यस्तै हो, श्रीमतीले छोडेर गएपछि भने निकै दुःख लागेको थियो, तर, जेजसरी भएपनि बाँच्नै परिहाल्दो रहेछ, अहिले छोराछोरी र नातिनातिनी छन्, रमाइलो छ, छोरीहरुको घरबार राम्रो भएको देख्न पाए हुन्थ्यो भन्ने लागेको छ,’ उनले कुराकानीको बिट मार्ने बेलातिर भने ।