सरकारले जग्गा फिर्ताको प्रक्रिया अघि बढाएपछि सर्वोच्च पुग्यो सीजी चाँदबाग, ढुंगाना र सुवेदीको इजलासमा पेसी



काठमाडौं । सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाएपछि उक्त प्रक्रिया रोक्न माग गर्दै चौधरी ग्रुप सर्वोच्च अदालतल पुगेको छ ।

डिल्लीबजार मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएपछि चौधरी ग्रुप अदालत पुगेको हो ।

साबिक च्याम्पियन फुटवेयर प्रालि तथा अहिलेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिले उत्प्रेषणको आदेशबाट सरकारले अघि बढाएका प्रक्रिया बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

गत १३ गते दर्ता भएको रिटको सुनुवाइ १४ गते भएको थियो । इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने/नगर्ने भन्ने विषयमा छलफलका दुवै पक्षलाई बोलाएको थियो ।

बिहीबार(आज) रिटको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा हुँदैछ । इजलासको दोस्रो नम्बरमा रहेको रिटमा अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफल हुने छ ।

मालपोत कार्यालयले सीजी चाँदबागका अध्यक्ष सन्जय ठाकुरलाई २१ दिने म्यादसहितको पत्र बुझाएको थियो । अध्यक्ष ठाकुर हिजो(बुधबार) डिल्लीबजारस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा उपस्थित भएका थिए।

बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीनजना हाजिर जमानीमा छुटेका थिए ।


क्लिकमान्डु