आफूविरुद्धको मुद्दामा सुनुवाइ हुनुअघि गभर्नरले भने- शान्तिका दूतहरू पनि रणभूमिमा उत्रनु पर्दोरहेछ !



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शान्तिका दूतहरु पनि रणमूभिमा उत्रिनु पर्ने जनाएका छन् ।

अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनमा आज पूर्ण इजलासमा सुनुवाइ हुन लाग्दा गभर्नर अधिकारीले सामाजिक सञ्जाल एक्स(ट्वीटर) मा परेवाहरुको भिडियो राख्दै परिबन्धले, शान्तिक्षेत्र पनि रणभूमि हुने उल्लेख गरेका छन् ।

‘परिबन्धले, शान्तिक्षेत्र पनि रणभूमि हुदो रहेछ ! शान्तिका दूतहरू पनि रणभूमिमा उत्रनु पर्दोरहेछ !’ अधिकारीले लेखेका छन् ।

अधिकारीको शैक्षिक योग्यतामा दायर रिटमा सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको पुस १३ गतेको एकल इजलासले माघ ९ गते(आज) पूर्ण सुनुवाइ गर्ने आदेश दिएको थियो । ‘रिट निवेदकले अधिकारीलाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गरेकोमा सो सन्बन्धमा पूर्ण सुनुवाइबाट निर्णय हुनु पर्ने देखिन्छ,’ आदेशमा भनिएको थियो ।

सर्वोच्च अदालतले गभर्नर अधिकारीले दायर गरेको रिट निवेदन सरकारले गभर्नरबाट निलम्बन गर्ने निर्णयविरुद्ध गभर्नर अधिकारीले दायर गरेको रिट निवेदनलाई समेत एकसाथै राख्दै शैक्षिक योग्यतामा प्रश्न उठाएको विषयमा सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको छ ।

सरकारले २०७८ चैत २५ गते अधिकारीलाई गभर्नरबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध अधिकारीले दायर गरेको रिटमा २०७९ वैशाख ६ गते सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेशलाई २०७९ वैशाख १३ गते सपनाप्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले निरन्तरता दिएको थियो ।
सरकारले अधिकारीलाई निलम्बन गर्ने निर्णयको अन्तिम सुनुवाइ भने भएको छैन ।

सर्वाेच्चले हाल दायर रिटलाई गभर्नर अधिकारीले पाएको अन्तरिम आदेशको रिटसँगै सुनुवाई गर्ने आदेश दिँदै माघ ९ गते पेसी तोकेकाले यसपटक शैक्षिक योग्यताका विषयमा टुंगो लाग्ने सम्भावना छ ।


क्लिकमान्डु