बैंकका कर्मचारी संगठनको नेतृत्व गरेका उपेन्द्र पौडेल अब सञ्चालकका संगठनको नेतृत्वमा



काठमाडौं । ‘तपाईं सीईओ भएर काम गर्ने हो ?’

तीन दशकअघि उद्योगी एवं बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का निवर्तमान अध्यक्ष पवन गोल्यानले तत्कालीन ग्रिनलेज बैंकका शाखा म्यानेजरलाई राखेको प्रस्ताव थियो यो । शाखा म्यानेजर थिए- हाल नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल ।

उनै गोल्यानले बुधबार पौडेललाई बैंक वित्तीय संस्थाका सञ्चालकहरुको संगठन सिबिफिनको अध्यक्ष पद हस्तान्तर गरेका छन् । सिबिफिनले उनलाई बुधबार अध्यक्षमा नियुक्त गरेको हो । पौडेलको करियरको टर्निङ प्वाइन्टमा भेटिएका गोल्यानले उनलाई सम्पूर्ण कार्यभार हस्तान्तरण गरेर कार्यकालबाट बिदा लिएका छन् ।

झन्डै ३ दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा बिताएका पौडेल सिबिफिनको कार्यभार सम्हाल्न आइपुगेका छन् ।

तत्कालिन नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई एनएमबी बैंकको रुपमा स्तरोन्नति गर्न अहं भूमिका खेलेका पौडेल निर्वतमान अध्यक्ष गोल्यानले जिम्मेवारी सुम्पिने अवस्थालाई मिठो संयोगको रुपमा विश्लेषण गर्छन् ।

‘उहाँसँगै धेरै समय काम गर्ने मौका मिल्यो, मेरो करियरको टर्निङ प्वाइन्ट पनि थियो त्यो, अहिले फेरि उहाँबाटै जिम्मेवारी ममा आइपुगेको छ ।’

२०७० देखि २०७३ सालसम्म नेपाल बैंकर्स एसोसिएसनको अध्यक्ष रहेर कार्यभार सम्हालिसकेका पौडेल २०७३ सालमा एनएमबी बैंकबाट बाहिरिएपछि २०७४ सालमा नबिल बैंकको सञ्चालक बनेका थिए ।

२०७७ सालदेखि नबिल बैंकको अध्यक्षका रुपमा कार्यभार सम्हालिरहेका उनी सञ्चालकको रुपमा सिबिफिनको नेतृत्वमा पुगेका हुन् । यससँगै पौडेल कर्मचारी र सञ्चालक दुवै संगठनको नेतृत्व गर्न पाउने व्यक्ति बनेका छन् ।

बैकिङ क्षेत्रमा विवादरहित बैंकर तथा सञ्चालकको छवि बनाउन सफल पौडेल वित्तीय क्षेत्र सुधारको योजनासहित अध्यक्षको रुपमा कार्यभार सम्हाल्न आइपुगेको बताउँछन् । उनी इमानदार र काममा समर्पित बैंकरका रुपमा चिनिन्छन् ।

बैंकप्रति सर्वसाधारणमा देखिएको रुष्टतालाई कम गर्दै सञ्चालकहरुबाटै सर्वसाधारणमा बैंकिङ सचेतना छर्ने उनको प्रमुख योजना छ ।

अर्बौंको नाफा गरेर बैंकहरुले सर्वसाधारणलाई महँगो ब्याज असुल्छन् भन्ने गलत भाष्य समाजमा प्रवाहित हुँदै गएकोमा पौडेल चिन्तित छन् । उनी पहिलो कामको रुपमा सर्वसाधारणलाई बैंकको भूमिका र बैंक कसरी सञ्चालन हुन्छ भन्ने बुझाउन विशेष अध्ययन समिति नै बनाएर अगाडि बढ्ने योजनामा छन् ।

भन्छन्, ‘सर्वसाधारणमा बैंकका विषयमा नकारात्मक धारणा प्रवाहित भइरहेको छ, यसलाई हटाउँदै बैंकको भूमिका र सञ्चालन प्रक्रियाका बारेमा सर्वसाधारणलाई प्रस्ट्याउनुपर्नेछ ।’

पौडेल नेपाली र विदेशी अध्येताहरुबाट अध्ययन समिति खडा गरेर भए पनि बैंकप्रतिको बुझाइलाई परिर्वतन गर्न कदम चाल्ने योजनामा छन् । 

कुशल नेतृत्वका लागि उदाहरणीय व्यक्तिको रुपमा चिनिने पौडेल आफ्नै कार्यकालमा नेपाल बैंकर्स एसोसिएसन र सिबिफिन प्रतिस्पर्धी संस्था होइनन् भन्ने भाष्य स्थापित गर्ने योजनामा छन् ।

‘हामीमा दुई संस्था प्रतिस्पर्धी हुन् भन्ने भाष्य स्थापित हुँदै गएको छ, यो नितान्त गलत कुरा हो, सञ्चालक हुन् वा सीईओ दुवैको उद्देश्य बैंकिङ क्षेत्र स्तरोन्नति गर्नु नै हो । त्यसैले सुरुमा यी दुई संगठन प्रतिस्पर्धी नभएर सहयोगी संस्था हुन् भन्ने भाष्य सिर्जना गर्नुछ ।’

पौडेलको कार्यकाललाई लिएर यतिबेला बैंक सञ्चालकहरुसमेत उत्साहित देखिएका छन् ।


क्लिकमान्डु