भिजिट भिसामा सेटिङबाट मान्छे पठाउन नपाएपछि अध्यागमनका कर्मचारीले विमानस्थलमा गरे हड्ताल



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी हड्तालमा उत्रिएका छन् । प्रहरीले मानव बेचविखनका मुद्दामा संलग्न अध्यागमनका कर्मचारी माथि अनुसन्धान सुरु गरेपछि बिरोधमा बिहीबार उनीहरुले कार्यालयमा हड्ताल गरेका हुन् ।

अध्यागमनका कर्मचारीले आवागमन र प्रस्थानकक्षमा अवरोध गर्दा सयौं यात्रु अलपत्र परेका हुन् । साढे ४ बजे जापानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको नेपाल वायुसेवा निगमको विमानबाट आएका २८० जना यात्रु आवागमन कक्षमा रोकिएका छन् । यस्तै विभिन्न वायुसेवा कम्पनीबाट उडान गर्ने यात्रुहरु समेत प्रस्थानकक्षमा रोकिएका छन् ।

अध्यागमनका कर्मचारीहरुले विभिन्न माग राख्दै सेवा प्रवाह रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए ।

‘मैले उहाँहरुलाई सेवा अवरुद्ध नगर्न आग्रह गरेको थिएँ तर उहाँहरुले मान्नुभएन’ उनले भने, ‘गृहमन्त्रालय र विमागले आफ्ना माग सम्बोधन गर्नुपर्ने उहाँहरुको माग छ ।’

नेपालबाट भिजिट भिसामा विभिन्न देश जानेहरुबाट अध्यागमनका कर्मचारीहरुले लाखौं रुपैयाँ उठाउने गरेका छन् । भिजिट भिसाबाट दुबै, मलेसिया, कतार लगायतका देशमा जाने महिलाबाट ५५ हजार र पुरुषबाट २० हजार प्रतिव्यक्ति अध्यागमनका कर्मचारीले उठाने गरेको गृहमन्त्रालयका अधिकारीहरु बताउँछन् ।

पछिल्लो समय प्रहरीले भिजिट भिसाका नाममा सेटिङ गर्दै विभिन्न देश पठाउने अध्यागमनका अधिकृतमाथि छानबिन सुरु गरेपछि कर्मचारीहरु रुष्ट बनेका हुन् । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने अध्यागमन विभाग, प्रहरी, नेपाल वायु सेवा निगमका कर्मचारीसहित ३२ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको जनाएको छ । त्यस्तै प्रहरीले ६ वटा ट्राभल एजेन्सी सञ्चालकलाई पनि पक्राउ गरेको थियो । प्रहरीले अध्यागनमका अधिकृत रहेका विमाल पौडेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अध्यागमन कक्षमा पुग्नुभन्दा अगाडि नै भिजिट भिसामा जाने सबै यात्रुको कडाइका साथ कागजपत्र चेकजाँच गर्ने र नक्कली कागजात भएका शंकास्पद यात्रुलाई फिर्ता पठाउन थालेपछि अध्यागमनका अधिकृतहरु सेटिङको कमाइ घटेको भन्दै रुष्ट भएका हुन् ।

‘वर्षौदेखि अध्यागमनमा मापदण्ड नपुगेका व्यक्तिलाई विदेश जान अनुमति दिएर पैसा उठाउने खेल चल्दै आएको छ,’ गृहमन्त्रालयका एक अधिकारीले भने, ‘पछिल्लो समय प्रहरीले अनुसन्धान सुरु गर्दा पूर्वगृहसचिव लगायतका उच्च अधिकारीसमेत यो धन्धामा संलग्न रहेको भेटिने भएपछि उहाँहरको डिजाइनमा आन्दोलन चर्काइएको हो ।’

प्रहरीले काममा हस्तक्षेप गरको भन्दै साथीहरुले असहमति राखेको अध्यागमन विभागका महानिर्देशक रुद्र तामाङले जानकारी दिए । ‘कामै रोकिएको होइन, कतिबेला कतिबेला साथीहरुले काम रोकिरहेका छन्’ उनले भने ।

भिजिट भिसामा रुस गएर सेना भर्ति भएका नेपाली नागरिकको मृत्यु भएपछि सरकारले भिजिट भिसाको अनुसन्धानमा कडाइ गर्न निर्देशन दिएको थियो ।


क्लिकमान्डु