उद्योगीलाई कुलमानको चुनौती: हामीलाई गलत सावित गराउनुस्, सजाय भोग्न तयार छौं



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूहरुलाई गलत सावित गराउन उद्योगीलाई चुनौती दिएका छन् ।

‘पुनरावेदनका लागि आउनुहोस्, हामी गलत रहेछौं भने गलत सावित गर्ने ठाउँहरु छन् । हामी भोग्न तयार छौं,’ डेडिकेटेड र ट्रंक लाइन विवादका सम्बन्धमा प्रस्ट पार्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामी गड गिफ्टेड होइनौं ।’

तिम्रो टीओडी मिटर छैन, तथ्यांक छैन, केही छैन, तिम्रो यो लागू हुँदैन भन्ने उद्योगीहरुलाई पुनरावेदनमा आउन् उनले आग्रह गरे । ‘हामीले उद्योगीलाई भनेका छौं । छलफल गरौं,’ घिसिङले भने, ‘निकायमा त आउनुपर्‍यो नि ! २५ प्रतिशत जम्मा गरुन्, पुनरावेदनमा आउन् ।’

पुनरावेदनको छलफलमा प्राधिकरणले गलत गरेको भए सबै कुरा ओपन हुने उनले बताए । ‘छलफल गर्न सकिन्छ । हामी पनि एकदमै पेलेर जाने, नाजायज बिलहरु गर्ने पक्षमा त छैनौं नि !’ उनले भने । अहिलेसम्मको स्थितिमा प्राधिकरणका पक्षमा सबै निर्देशन र निर्णयहरु भएकाले यो स्टेप चाल्नु बाध्यात्मक भएको कुलमानको भनाइ छ ।

प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली लिएका ६१ उद्योगीबाट मंसिरर मसान्तसम्ममा २२ अर्ब २४ करोड रुपैयाँ लिन बाँकी छ । यसमध्ये हाल लाइन काटिएका ९ वटा उद्योगीले मात्रै १२ अर्ब ५० करोड रुपैयाँ तिर्न बाँकी रहेको घिसिङले बताए ।


क्लिकमान्डु