प्रिमियममा सेयर निष्कासन गर्न दिएर नीतिगत भ्रष्टाचार, हमाल ठगका सरदार: सांसद यादव



काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रदिप यादवले घाटामा गएका कम्पनीलाई प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न दिएर धितोपत्र बोर्डका अध्यक्षले करोडौं भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उनले प्रिमियम मूल्यमा अर्बौंको सेयर निष्काशन गर्न दिएर सेबोन अध्यक्ष रमेश हमालले करोडौं नीतिगत भ्रष्टाचार गरेको र सेबोनमा धेरै भ्रष्टाचार भएको दाबी गरे ।

सेबोन अध्यक्ष ठगका सरदार भएको उनले आरोप लगाए ।

‘घाटामा गएका कम्पनीलाई सेयर निष्कासन गर्न दिएर धितोपत्र बोर्ड अध्यक्षले भ्रष्टाचार गरे । सेयर बजार अपराधीको कब्जामा छ । तीन वर्षयता लगानीकर्ता आत्महत्या गर्ने अवस्थामा छन्,’ उनले भने ।

उनले प्रिमियममा सेयर निष्काशन गर्ने सबै कम्पनीको कागजात मागेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न लगाउन माग गरे ।

सांसद अर्जुन नरसिंह केसीले प्रिमियममा सेयर निष्काशन गर्न दिएर ठूलो नीतिगत भ्रष्टाचार भएको आरोप लगाए ।

टाट उल्टिन लागेका कम्पनीलाई पनि प्रिमियममा सेयर निष्काशन गर्न दिएर नीतिगत भ्रष्टाचार भएको उनको दाबी छ । तीनवर्ष नाफामा गएको कम्पनीले मात्र प्रिमियममा सेयर जारी गर्न पाउने व्यवस्था भए पनि नियमावली संशोधन गरेर दुई वर्षमा झार्नु पनि नीतिगत भ्रष्टाचार भएको उनको भनाइ छ ।

‘नयाँ स्टक एक्सचेन्ज ल्याउन खोज्नु, नयाँ ब्रोकरलाई जथाभावी लाइसेन्स दिँदा धेरै आर्थिक बिचलन भएको छ,’ उनले भने,’ यो विषयमा लेखा समितिले गम्भीर रुपमा हेर्नुपर्छ । प्रिमियममा सेयर निष्काशन गर्न दिने लगायतका बिषयमा छानबिन समिति बनाउएर जानुपर्छ ।’


क्लिकमान्डु