ग्यासमा तोकिएको भन्दा बढी मूल्य लिए कारबाही गर्ने निगमको चेतावनी



काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासमा सरकारले तोकेको मूल्यभन्दा बढी नलिन चेतावनी दिएको छ ।

तोकिएको मूल्यभन्दा बढी मूल्य असुल गरेको पाइएमा एलपी ग्यास विनियावलीअनुसार कारबाही गर्ने निगमले चेतावनी दिएको हो ।

सरकारले ग्यास उद्योगदेखि ५० किलोमिटर सम्मको दूरीका लागि प्रति सिलिण्डर १८९५ रुपैयाँ तोकेको छ । तर पछिल्लो समयमा कर्णालीलगायत केही बिकट जिल्लाका ग्यास बिक्रेताहरुले प्रति सिलिण्डरलाई ५ हजार रुपैयाँसम्म असुल गरेको पाइएको छ ।

निगमका अनुसार ग्यास उद्योगबाट ५० किलोमिटरभन्दा बढी दूरी भएको हकमा स्थानीय ढुवानी भाडा समायोजन गरि बिक्रेताले प्रतिसिलिण्डर खुद्रा मूल्य तय गर्न सक्छन् ।

‘तर त्यो स्थानीय ढुवानी भाडा पनि बैज्ञानिक हुनुपर्छ,’ निगमले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ‘आफुखुशी मूल्य लिइएको पाइएमा केन्द्रिय कार्यालयसहित प्रादेशिक कार्यालयमा जानकारी गराउन आग्रह छ ।’

खाना पकाउने ग्यासको बढी मूल्य नलिन पछिल्लो समयमा नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघले पनि बिज्ञप्तीमार्फत बिक्रेताहरुलाई आग्रह गरेको थियो ।


क्लिकमान्डु