उदयपुर सिमेन्ट उद्योगमा १८ करोड रुपैयाँ ऋण लगानी गर्ने अर्थमन्त्रीको घोषणा



काठमाडौं । सरकारले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा ऋण लगानी गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले मंगलबार उद्योगमा सरकारले १८ करोड रुपैयाँ ऋण लगानी गर्ने घोषणा गरे ।

सरकारले थप लगानी गरे उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउने र नाफामा जाने व्यवस्थापनले दाबी गरिरहँदा सरकारले १८ करोड रुपैयाँ ऋण लगानीको घोषणा गरेको हो । मेसिन परिवर्तनका लागि सरकारले रकम घोषणा गरेको हो । उद्योगको अवस्था निरीक्षण गर्न अर्थमन्त्री उदयपुर पुगेका थिए ।

उदयपुर सिमेन्ट उद्योगले अर्थमन्त्रालयसँग ४० करोड रुपैयाँ माग गरेको थियो ।

प्रतिनिधि सभाअन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा उदयपुर सिमेन्ट सञ्चालक समितिका अध्यक्ष केशवकुमार बस्नेतले अहिलेकै अवस्थामा उद्योग नचल्ने बताए ।

‘उदयपुर सिमेन्ट अपडेट गर्न सकिएन भने चलाउन सकिँदैन । अपडेट गर्न नेपाल सरकारको ध्यान जानुपर्‍यो,’ उनले भने, ‘मन्त्रालयसँग ४० करोड रुपैयाँ मागेका छौँ । २५/३० करोड लगानी गर्न सकियो भने १० अर्बको सम्पत्ति बचाउन सक्छौँ ।’

सरकारले २०४४ साल जेठ ३१ गते उदयपुरको जलजलेमा उदयपुर सिमेन्ट उद्योग स्थापना गरेको थियो । यो उद्योगले अब्बल ग्रेडको गुणस्तरयुक्त गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको छ । दैनिक ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता उद्योगको भए पनि त्यस अनुसार उत्पादन हुन सकेको छैन ।


क्लिकमान्डु