पर्यटनमन्त्रीको निर्देशनपछि वायुसेवा निगमको १३ दिनदेखिको आन्दोलन स्थगित



काठमाडौं । पर्यटनमन्त्री सुदन किराँतीको निर्देशनपछि नेपाल वायुसेवा निगमका कर्मचारीले १३ दिनदेखि गरिरहेको आन्दोलन आज (सोमबार)बाट स्थगित गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ खोस्ने गरी मंसिर १५ मा निर्णय गरेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।

निगमका कर्मचारीले प्राधिकरणको निर्णय फिर्ता हुनुपर्ने र वायुसेवा निगमलाई नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रवन्ध सेवा (ग्राउण्ड ह्याण्डलिङ निरन्तर हुनुपर्ने माग गर्दै निगम कार्यालय नयाँ सडकमा धर्नासहितको विरोध कार्यक्रम गर्दै आएका थिए ।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले निगमको ह्याण्डलिङ खोस्ने कुनै निर्णय नभएको र सरकारले निर्णयबिना कसैले निगमको अधिकारी खोस्न नसक्ने भएकोले आन्दोलन फिर्ता लिन गरेका आग्रहलाई कर्मचारीले स्वीकार गरेको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए । मन्त्री किराँतीले सम्पूर्ण क्रियाशील टे«ड युनियनहरुले सञ्चालन गरेको आन्दोलनका सबै गतिविधि रोकेर तत्कालै कममा फर्कन निर्देशन दिएका थिए ।

निगमका प्रवक्ता पौडेलका अनुसार मन्त्रालयबाट आइतबार नै सरकारले ग्राउण्ड ह्याण्डलिङविरुद्ध निर्णय नगरेको चिठी आएको छ । मन्त्रालयले पठाएको उक्त पत्रबारे जानकारी गराएर मात्रै कर्मचारीको १३ दिनदेखि गर्दै आएको धर्नासहितका विरोधका सबै कार्यक्रम स्थगित गरिएको पनि पौडेलले बताए ।

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमले हालसम्म एकाधिकार पाएको त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्ने र प्रतिस्पर्धा गराएर दिने निर्णय गरेको थियो ।

प्राधिकरणले अब उक्त सेवामा प्रतिस्पर्धा गराउने हुँदा निगमको प्रमुख आम्दानीको स्रोत गुम्ने भएपछि निगम कर्मचारीले विरोध गरेका हुन् । निगमले हाल विदेशी वायुसेवालाई दिने यस्तो ग्राउण्ड ह्याण्डलिङ सेवाबाट बार्षिक करिब ४ अर्ब रुपैयाँ आम्दानी गर्छ ।

वायुसेवा निगमले हालसम्म ग्राउण्ड ह्याण्डलिङ सेवामा १० अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको दाबी छ । यस्तो लगानीबाट त्रिभुवन विमानस्थबाट मात्रै यसले वार्षिक करीब ४ अर्ब रुपैयाँ आम्दानी गर्छ ।

निगमले विमानस्थलमा यात्रुलाई जहाजसम्म पुर्याउने र यात्रुको सामान व्यवस्थापन गर्ने अर्थात ग्राउण्ड ह्याण्डलिङ सेवा दिन्छ । निगमले हाल नेपालमा उडान गरिरहेका ३० वटा अन्तर्राष्ट्रिय उडानका वायुसेवामध्ये एयर इन्ण्डियाबाहेक सबैलाई उक्त सेवा दिँदै आएको छ ।

यूरोपियन युनियनले नेपाललाई कालोसूचीबाट नहटाएपछि क्यानका महानिर्देशक प्रदिप अधिकारीले नेपाल एयरलाइन्सका कारण नेपाल कालोसूचीबाट नहटेको अभिव्यक्ति दिएका थिए । नेपाल एयरलाइन्सले अधिकारीको उक्त अभिव्यक्तिको खण्डन गरेको थियो । त्यसपछि रिसाएका अधिकारीले व्यक्तिगत इगो साँध्न सरकारी स्वामित्वको नेपाल एयरलाइन्सबाट ग्राउन्ड ह्याडिलिङ खोस्ने निर्णय गरेका थिए । मन्त्रीले उक्त निर्णय उल्ट्याउने प्रतिवद्धता जनाएपछि कर्मचारी आन्दोलन स्थगित भएको छ । यसले मन्त्री र क्यानका महानिर्देशकबीच थप टसल हुने देखिएको छ ।


क्लिकमान्डु