काठमाडौं महानगरले गरेका कामहरुलाई गम्भीरतापूर्वक नियालिरहेको छु: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आवश्यक रहेको बताएका छन् ।

२९ औं महानगर दिवसको अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप स्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउत थप प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाए ।

संविधानले परिलक्षित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन संघीय कानूनहरुको निर्माण आफ्नो पहिलो प्राथमिकताको विषय भएको बताए ।

संघीय कानूनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै वर्तमान प्रणालीलाई थप सुदृढ र जनताको हितमा प्रयोग गर्न सकिने उनको विश्वास छ ।

प्रधानमन्त्री दाहालले पछिल्लो समय काठमाडौं महानगरपालिकाले गरेका प्रगतिशील कामहरु आफूले गम्भीरतापूर्वक नियालिरहेको बताए ।
महानगरले शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरुको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरुको संरक्षण, लागुऔषध, सुर्ति, चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति र रोजगारी सिर्जनाका क्षेत्रमा महत्वपूर्ण कदम चालेको बताए ।


क्लिकमान्डु