प्रधानमन्त्रीसँग बालेनले मागे यी ३ सहयोग



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

२९ औं महानगर दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका,प्रदेश सरकार र संघीय सरकारको भूमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे ।

अबको साढे तीन वर्षभित्र फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।
मेयर शाहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे ।

‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन् । काठमाडौं महानगरपालिकाले वाचा गरेका कामहरु धेरै बाँकी छन् । तिमध्ये तीन वटा विशेष कामहरु जुन, तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ, फोहोर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन् । महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीनकुराको व्यवस्थापन गर्न सकोस् । साढे तीन वर्ष भित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ’ उनले भने ।

मेयर साहले काठमाडौं उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि संघ प्रधानमन्त्रीसँग आग्रह गरे ।


क्लिकमान्डु